गोदावरी भिलेज रिसोर्ट पुनः सञ्चालन

भाद्र ३०, काठमाडौ–व्यवस्थापन र मजदुरबीच झन्डै तीन महिना लामो विवादपछि ललितपुरस्थित गोदावरी भिलेज रिसोर्ट पुनः सञ्चालनमा आएको छ। मजदुरले राखेका मागमध्ये तीनवटा पूरा गर्न व्यवस्थापन सहमत भएपछि रिसोर्ट खुलेको हो।व्यवस्थापन पक्षबाट माग पूरा नगरिएको भन्दै त्यहाँ कार्यरत मजदुरले गत असार ९ बाट रिसोर्टमा काम बन्द गरेका थिए। मजदुरको निर्णयलगत्तै पर्सिपल्ट व्यवस्थापनले पनि रिसोर्टको मूलगेटमा सूचना टाँसेर सबै कोठामा तालाबन्दी गरेको थियो। त्यसयता मजदुर शान्तिपूर्ण धर्नामा बसेका थिए। व्यवस्थापनसँगको वार्ता पनि टुंगोमा पुग्न सकेको थिएन।’मजदुरसँग भएको वार्ता सहमतिमा टुंगिएपछि रिसोर्ट सञ्चालनमा आएको छ,’ रिसोर्टका बिक्री प्रबन्धक सुशीलकुमार अर्यालले आइतबार नागरिकसँग भने, ‘मजदुरका मागमध्ये तीनवटा पूरा गर्ने सम्झौता भएपछि उनीहरू काममा फर्किएका छन्।’
उनका अनुसार व्यवस्थापनले सतप्रतिशत बोनस दिने, सुत्केरी खर्च २ हजार ५ सय र किरिया खर्च पनि २ हजार ५ सय रुपैयाँ दिने सहमति भएको छ। यस्तो खर्च प्रत्येक मजदुरलाई बढीमा दुई पटकमात्र दिइने छ। त्यसैगरी रिसोर्ट नखुलेको दिनसम्मको तलब भने खाइपाइ आएको तलबको ३५ प्रतिशतमात्र उपलब्ध गराउने सहमति पनि भएको छ।’हामीले बुकिङ सुरु गरिसक्यौं र प्रतिक्रिया पनि राम्रै आएका छन्,’ अर्यालले भने, ‘तर, यसापालिको प्रमुख पर्यटक याम भने हाम्रा लागि खेर गएसरह भयो। रिसोर्ट खुल्ने टुंगो नभएपछि बुकिङ लिएका थिएनौं। अब अर्को यामलाई लक्ष्य गरेर अगाडि बढ्छौं। अबका केही महिना भने सभा, सम्मेलन तथा नेपालीका लागि प्याकेज बनाएर बजारीकरणमा जान्छौं।’
करिब तीन महिना रिसोर्ट बन्द हुँदा प्रत्यक्ष रूपमा २ करोड ५० लाखसहित ५ करोड रुपैयाँबराबरको आम्दानी गुमाएको उनले जानकारी दिए। बन्द हुनुअघि नै रिसोर्ट बुकिङ गरेका करिब ७० जना विदेशी पर्यटक भने रिसोर्टमै बस्न आएको उनले बताए।
रिसोर्ट व्यवस्थापनलाई पटक–पटक माग पूरा गराउन लिखित आग्रह गरिएको तथा विभिन्न चरणमा वार्तासमेत हुँदा पनि कुनै सुनुवाई नभएपछि ‘बाध्य भएर’ काम बन्द गर्नुपरेको त्यसबेला मजदुरले बताएका थिए।विगतमा श्रम कार्यालय, नेपाली कांग्रेस र एनेकपा (माओवादी) निकट मजदुर युनियनसँग बसेर व्यवस्थापनसँग धेरैपल्ट वार्ता भए पनि निष्कर्षमा पुग्न नसकिएको मजदुरको भनाइ थियो। व्यवस्थापनले बारम्बार आश्वासन दिने तर माग पूरा नगर्ने प्रवृत्ति दोहोर्या्एपछि काम बन्द गरिएको उनीहरूको भनाइ थियो।
पटक–पटक आग्रह गर्दा पनि व्यवस्थापनले माग पूरा नगरेपछि रिसोर्टमा काम गरिरहेका ९४ प्रतिशत (१ सय २३) मजदुरले काम बन्द गरी हडतालमा उत्रिन श्रम ऐनको दफा ७४ अनुसार २९ दिनअघि मागपत्र पेस गरेका थिए। लामो प्रयासमा पनि रिसोर्ट व्यवस्थापन मागप्रति सकारात्मक हुन नसकेपछि ‘माग पूरा नभए ६० प्रतिशत मजदुरले गोप्य मतदानबाट हडतालमा जान पाउने’ दफा ७६ पछ्याउँदै काम बन्द गरी हडतालमा उत्रिने निर्णय गरेका थिए। मतदानमा श्रम कार्यालय, मजदुर संगठन, व्यवस्थापनलगायतका प्रतिनिधि उपस्थित थिए।
मजदुरले रिसोर्टमा तालाबन्दी नगरी रेस्टुरेन्ट, कोठा सबै खुला राख्ने तथा युनिफर्म लगाएर काम नगरी धर्ना बस्न थालेका थिए, तर एक्कासि पर्सिपल्ट व्यवस्थापनले मूलगेटमै सूचना टाँसेर सबै कोठामा तालाबन्दी गरेको थियो।
रिसोर्टमा काम गरिरहेका मजदुरले व्यवस्थापनसँग खाइपाइ आएको तलबमा मूल्य वृद्धिअनुसार २५ प्रतिशतसम्म वृद्धि गर्नुपर्ने (यसमा थपघट गर्न सकिने), यसअघि व्यवस्थापनले सहमति गरेको मजदुर कल्याणकारी कोषमा पैसा जम्मा गर्नुपर्ने, १० प्रतिशत सेवा शुल्क पारदर्शी हुनुपर्ने, उपदान कोष खडा गर्नुपर्ने, सुत्केरी भत्ता, किरिया खर्च दिनुपर्ने, दीर्घसेवा पुरस्कार दिनुपर्ने, तलब, भत्ता र आधारभूत आवश्यकता तोकिएको समयमै दिनुपर्ने लगायत ११ बुँदे माग राखेका थिए।
१८ वर्षअघि सन् १९९६ अक्टोबर ४ मा स्थापित गोदावरी भिलेज रिसोर्टमा हाल १ सय ३० जना स्थायी मजदुर/कर्मचारी काम गरिरहेका छन्। स्थापना हुँदा २५ कोठा रहेको रिसोर्टमा अहिले ६९ वटा डिलक्स कोठा छन्।
रिसोर्टमा सुमेरु कफी सप र वैजयन्ता नामका दुई रेस्टुरेन्ट छन्। यहाँ नेपाली, इन्डियन, चाइनिज र कन्टिनेन्टल खाना पाइन्छन्। त्यसैगरी ४ सय ५० जना अटाउने सुमेरु, कैलाश, गार्डेन, अमरावती र मिटिङ रुम नामका पाँचवटा सम्मेलन कक्ष पनि छन्। ललितपुर कुपन्डो

– See more at: http://nagariknews.com/economy/story/24800.html#sthash.7R92L4eA.dpuf