बेलायतीको शिरोच्छेदन गर्नेलाई छाडिने छैन : क्यामरुन

भाद्र ३०, काठमाडौ– बेलायती प्रधानमन्त्री डेविड क्यामरुनले बेलायती सहायताकर्मी डेविड हेन्सको शिरोच्छेदन गर्नेलाई खोजी गरेर न्यायको कठघरामा उभ्याएरै छाड्ने बताएका छन्।‘यसका लागि जतिसुकै समय किन नलागोस्,’ आइतबार सरकारको आकस्मिक बैठकपछि उनले भने, ‘आइएस (इस्लामिक स्टेट) ले हेन्सको शिरोच्छेदन गरेपछि यो अतिवादी गुटसँग लड्ने बेलायती संकल्प थप मजबुद भएको छ।’
आइएसका तर्फबाट जारी भिडियोमा बेलायती नागरिक हेन्सको शिरोच्छेदन गरिएको देखाइएको छ। क्यामरुनले यो घटनालाई दुष्टतापूर्ण भनेका छन्। इन्टरनेटमा जारी यो भिडियोमा नकाबधारी एक व्यक्तिले आइएसविरुद्ध लडिरहेको कुर्द लडाकुहरुलाई मद्दत गरेको भन्दै बेलायती निर्णयको निन्दा गरेको देखिन्छ।
यो भिडियोमा डेविड हेन्स घुँडा टेकेर बसेको देखिन्छ। हेन्स डेढ वर्षअघि सिरियाबाट अपहरणमा परेका थिए। यो भिडियोमा आइएसको नियन्त्रणमा रहेका अन्य एक बेलायतीको पनि शिरोच्छेदन गरिने धम्की दिइएको छ।
यसअघि भिडियो सार्वजनिक भए लगत्तै प्रधानमन्त्री क्यामरुनले हत्याको पुष्टि गरेका थिए। ४४ वर्षे हेन्स पर्थका नागरिक हुन्। उनका दुई बच्चा र पिता छन्। सहायता मिसनमा उनी सिरिया गएका थिए।