असार २९, काठमाडौं – बेनी बजारको फोहर व्यवस्थापनका लागि दिगो ‘ल्याण्डफिल साइट’ निर्माणको योजना सुरु भएको दुई दशकभन्दा बढी भयो । तर अहिलेसम्म जग्गा खोजीमै काम रोकिएको छ । उपयुक्त जग्गा अभावमा बेनी नगरपालिकाले कालीगण्डकी नदी किनारको रातोपहिरो क्षेत्रमा फोहर विसर्जन गरिरहेको छ । जसले वातावरण, जनस्वास्थ्य र धार्मिक सम्पदामा असर परेको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन् ।
बेनी नगरपालिकाले हरेक आर्थिक वर्षको नीति तथा कार्यक्रम तथा बजेटमा फोहोर व्यवस्थापन केन्द्र निर्माणलाई प्राथमिकता दिँदै आएका छ । तर उपयुक्त स्थानमा जग्गा पहिचान हुन नसक्दा योजना कार्यान्वयनमा आउन सकेको छैन । त्यसैले बेनी नगरपालिका–६ रातोपहिरोस्थित कालीगण्डकी नदी किनारमा विसं २०६० देखि फोहर विसर्जन हुँदै आएको छ ।
रातोपहिरोको फोहर व्यवस्थापनस्थल कालीगण्डकी नदीको किनार तथा बेनी–जोमसोम सडकसँगै रहेकाले त्यसबाट निस्कने दुर्गन्धले आसपासका बस्तीका बासिन्दा, यात्रु, पर्यटक तथा तीर्थयात्री प्रभावित भएका छन् ।
जलजला गाउँपालिका–२ बगरफाँटका हीराबहादुर बरुवालले खुला रूपमा फोहर फालिँदा बगरफाँट, जलेश्वर, कालीपुल र गलेश्वर क्षेत्रका बासिन्दाले दुर्गन्धको समस्या भोगिरहेको बताए। उनका अनुसार बेनी–गलेश्वर हुँदै मुस्ताङ आवतजावत गर्ने पर्यटक र तीर्थयात्रीसमेत यसबाट प्रभावित हुने गरेका छन् ।
बेनी, गलेश्वर, तातोपानी, सिंगा र हाडेभिर क्षेत्रका दुई हजारभन्दा बढी घरधुरीबाट दैनिक तीनदेखि चार ट्र्याक्टर फोहर सङ्कलन गरी रातोपहिरोमा विसर्जन गरिन्छ । नदी किनारमा फोहर नफाल्न तत्कालीन पुनरावेदन अदालत बागलुङले विसं २०७२ मा निषेधाज्ञा जारी गरे पनि विकल्प अभावमा सोही स्थान प्रयोग भइरहेको छ ।
बेनी नगरपालिकाले फोहोर व्यवस्थापनका लागि ‘कम्प्याक्टर’ मेसिन र सवारीसाधनसहित पोखरास्थित ‘मिसन फर वेस्ट म्यानेजमेन्ट’लाई मासिक एक लाख ६० हजारमा जिम्मेवारी दिएको छ । नगरप्रमुख सुरत केसीले सुरक्षित र दिगो ल्याण्डफिल साइटको विकल्प नपाएकाले हालको स्थान प्रयोग गर्नु बाध्यता भएको बताए।
उहाँका अनुसार पछिल्ला वर्षदेखि फोहर छुट्याएर कुहिने वस्तु खाडलमा व्यवस्थापन गर्ने, पुनः प्रयोगयोग्य सामग्री छुट्याउने तथा कुहिने फोहोरबाट प्राङ्गारिक मल उत्पादन गर्ने काम सुरु गरिएको छ । यसले नदीमा प्रत्यक्ष फोहर पुग्ने अवस्था केही घटेको उनको भनाइ छ ।
नगरपालिकाले विभिन्न स्थानमा ल्याण्डफिल साइट निर्माणका लागि प्रस्ताव गरे पनि जग्गा प्राप्तिमा सहमति जुट्न नसकेको जनाएको छ । कम्तीमा दुई रोपनी जग्गा आवश्यक पर्ने नगरप्रमुख केसीले जानकारी दिए ।
दुई वर्षअघि रातोपहिरो नजिकैको कालीगण्डकी किनारबाट भारतको अयोध्यामा निर्माण भएको राम मन्दिरका लागि देवशिला उत्खनन गरिएको थियो । सोही क्षेत्रलाई देवशिला उद्यानका रूपमा विकास गर्न सङ्घीय र प्रदेश सरकारले फोहर व्यवस्थापन स्थल हटाउनुपर्ने सर्त राखेको नगरपालिकाले जनाएको छ ।
ल्याण्डफिल साइटको विकल्प पहिचान नभएसम्म दुर्गन्ध नियन्त्रणका लागि औषधि, चुना र माटो नियमित रूपमा प्रयोग गर्न स्थानीयले माग गरेका छन् । हाल फोहर फाल्ने स्थानमा टहरा निर्माण गरी नकुहिने फोहर छुट्याएर कवाडीमा बिक्री गर्ने गरिएको छ ।
गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले कालीगण्डकी नदी हिन्दू आस्था, जैविक विविधता र प्राकृतिक सम्पदासँग जोडिएको महत्त्वपूर्ण नदी भएकाले यसको संरक्षणका लागि वैज्ञानिक फोहर व्यवस्थापनको विकल्प तत्काल खोजिनुपर्ने बताए ।
