अड्‍क्‍यो सर्वपक्षीय सभा, मितिको किचलो

भदौ २७,काठमाडौं-संविधानसभा बाहिर रहेका दललाई पनि सहभागी गराएर संविधान निर्माण गर्ने पहलअन्तर्गत सर्वपक्षीय राजनीतिक सभा गर्ने भनिए पनि एक दिनअघि कि पछि भन्‍ने विवादमा अड्किएको छ। कांग्रेस, एमाले, एमाओवादी र नेकपा-माओवादीबीच प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार करिब पाँच घन्टा छलफल भए पनि सभा भदौ ३१ गते गर्ने कि असोज १ गते गर्ने भन्नेमा सहमति जुट्न सकेन।

संविधानसभा चुनाव बहिष्कार गरेको नेकपा-माओवादीसँग पनि नयाँ संविधानका विषयवस्तुबारे सहमति जुटाउन सर्वपक्षीय सभा गर्न चार दल सहमत भएका छन्। बैठकमा सहभागी कांग्रेस सहमहामन्त्री पूर्णबहादुर खड्काका अनुसार कांग्रेस-एमालेले भदौ ३१ गतेसम्ममा सभा गरिसक्नुपर्ने धारणा राखे भने नेकपा-माओवादीले असोज १ गतेभन्दा अगाडि गर्न नसकिने अडान राख्यो।
खड्काले संविधानका विषयवस्तु र शान्तिप्रक्रियाबारे सर्वपक्षीय सम्मेलन गर्नेबारे सैद्धान्तिक सहमति भने भएको जानकारी दिए। उनले भने, ‘मोहन वैद्यजीको प्रस्तुति हेर्दा सकारात्मक नै छ। नेकपा-माओवादी पनि संविधान निर्माण प्रक्रियासँग जोडिन खोजेजस्तो लाग्छ।’
बैठकका अर्का सहभागी नेकपा-माओवादीका सचिव देव गुरुङले सतहमा देखिँदा एक दिनले कुरा नमिलेको बताए। ‘सम्मेलन सुरु गरौं भन्नेमा सहमति भयो तर विषयवस्तुबारे बुझाइमा फरकफरक छ’, उनले भने, ‘पाँच वर्षसम्म मिल्न नसकेका संविधानका विषयवस्तु दुईचार दिनको छलफलबाट टुंगिन्छ भन्‍ने हैन। अलि धैर्यपूर्वक समय लिएर छलफल गरी टुंगोमा पुग्न चाहेका हौं। हामी राजनीतिक रूपमा सहमतिमा पुग्न चाहन्छौं।’
बैठकमा नेकपा-माओवादीका अध्यक्ष वैद्यले शान्तिप्रक्रियाका बाँकी काम, द्वन्द्वकालीन मुद्दा, त्यसबेला ‘जनसरकार’ ले पास गरेका जग्गाको विषय र सत्य निरूपण तथा मेलमिलाप आयोगको विषयमा छलफल गरी सहमतिमा पुग्न सर्वपक्षीय सभा गर्नुपर्ने बताएका थिए। संविधानका विषयवस्तुबारे मात्र छलफल गर्ने हो भने नेकपा-माओवादी सभामा नबस्ने पनि उनले बताएका थिए।