जलविद्युत्‌मा लगानी गर्न विदेशी इच्‍छुक

भदौ २७,काठमाडौं-भारतसँग विद्युत् व्यापार तथा प्रसारण लाइन सम्झौतामा प्रारम्भिक हस्ताक्षर भएलगत्तै नेपालको जलविद्युत् क्षेत्रमा अन्तर्राष्ट्रिय लगानीकर्ताको चासो बढ्न थालेको छ। सम्झौतालाई अन्तिम रूप दिएपछि भारतीय बजारमा नेपालमा उत्पादित जलविद्युत्ले सहज प्रवेश पाउने भएपछि विदेशी लगानीकर्ताको चासो बढेको हो।
आजको अन्नपूर्ण पोष्टका अनुसार नर्वे, मलेसिया र बंगलादेशले नेपालको जलविद्युत्मा लगानी गर्न चासो देखाएका हुन्। भारतसँग विद्युत् व्यापार सम्झौता हुनुभन्दा करिब डेढ महिनाअघि मलेसियाले एउटा उपयुक्त जलविद्युत् आयोजना निर्माणका लागि सरकारसँग माग गरेको थियो।
नेपालका लागि मलेसियाका राजदूत फादली एदिल्लाहले ऊर्जामन्त्री राधा ज्ञवालीलाई बिहीबार मन्त्रालयमा भेटी चार सय २० मेगावाट क्षमताको चैनपुर सेती जलविद्युत् आयोजना निर्माण गर्न आफ्नो देश इच्छुक रहेको बताए।
मलेसिया पहिलेदेखि नै नेपालको जलविद्युत्मा लगानी गर्न इच्छुक रहेको जानकारी गराउँदै राजदूत एदिल्लाहले चैनपुर सेती आयोजना माग गरेको मन्त्री ज्ञवालीले बताइन्। ‘हिजो पनि मलेसियाका प्रधानमन्त्री पेरडाना मेन्टेरीका विशेष दूतले मसित भेट गरी एउटा आयोजना दिलाउन अनुरोध गरेका थिए’, ज्ञवालीले बिहीबार भनिन्, ‘आज राजदूत नै आएर आफू लगानी गर्न इच्छुक रहेको बताए।’
भारतसँग प्रसारण लाइन र विद्युत् व्यापार सम्झौता नभएकै अवस्थामा २०६७ सालमा भारतीय कम्पनी जिन्दालले चैनपुर सेतीको सर्वेक्षण अनुमतिपत्र लिएको थियो। उसले प्रारम्भिक अध्ययनमात्र गरेको थियो।
पछि सर्वेक्षण अनुमतिपत्रको शुल्कमा अत्यधिक वृद्धि भएको कारण देखाउँदै लाइसेन्स नवीकरण गरेको थिएन। ‘केही अध्ययन भएको चैनपुर सेती नै मागेपछि हामीलाई पनि यो आयोजना उपयुक्त लाग्यो’, ज्ञवालीले भनिन्, ‘हामीले यस आयोजनाको जानकारीपत्र दिएका छौं।’
उनका उनुसार मलेसियाका निजी क्षेत्रसमेत नेपालको जलविद्युत्मा लगानी गर्न इच्छुक रहेको जानकारी राजदूत एदिल्लाहले दिएका छन्। अर्को महिनासम्ममा मलेसियाको निजी क्षेत्रको एक टोली नेपाल आउने ज्ञवालीले बताइन्।
बंगलादेशले पनि नेपालसँग छिट्टै विद्युत् व्यापार सम्झौता गर्न खोजेको छ। उसले पाँच हजार मेगावाट बिजुली नेपालबाट आयात गरेर लैजाने जनाउ पनि दिएको छ।