दक्षिण कोरियाले उत्तर कोरिया लाई दियो कडा चेतावनी

भदौ ३१,काठमाडौं –  दक्षिण कोरियाले आणविक तथा क्षेप्यास्त्र प्रक्षेपण गर्ने भनि उत्तरले दिएको धम्कीको कडा जवाफ दिने चेतावनी दिएको छ ।

उत्तर कोरियाले आफ्नो योङब्योन परमाणु संयन्त्र सम्पुर्ण रुपले सुचारु भएको र जुन सुकै समयमा पनि आणविक हतियार प्रयोग गर्न तयार रहेको बताएको एक दिन पछि दक्षिणले यस्तो चेतावनी दिएको हो । उत्तर कोरियाले गर्ने संभावित क्षेप्यास्त्र प्रक्षेपण र आणविक परिक्षण गम्भिर उत्तेजनात्मक गतिविधी तथा सैन्य धम्की रुपमा सोल सरकारले लिने दक्षिण कोरियाको रक्षा मन्त्रालयले जनाएको छ ।

पत्रकार सम्मेलनका क्रममा रक्षा मन्त्रालयका प्रवत्ता जोङ जुन हीले उत्तरका उत्तेजनात्मक गतिविधीहरु राष्ट्र संघ सुरक्षा परिषदको प्रस्तावनाको विपरित तथा उल्लंघन हुने बताएका छन् । उत्तरको संभावित आणविक परिक्षणको सोलले अन्तर्राष्ट्रिय समूदायसँग मिलेर कडा प्रतिवाद गर्ने प्रतिबद्धता पनि हीले गरेका छन् । उनले प्योङयाङ पछिल्ला गतिविधीका बारेमा सोलले अमेरिकासँग सहकार्य गरेर सुक्ष्म अध्ययन गरिरहेको जानकारी दिए ।

मंगलबार उत्तर कोरियाले योङब्योन परमाणु संयन्त्र पुर्ण रुपमा संचालनमा आएको र जुन सुकै बेला आणविक हतियार प्रयोग गर्न तयार रहेको बताएको थियो भने सोमबार सत्तारुढ वर्कस पार्टीको स्थापना दिवसको अवसरमा अक्टोबर दशको आसपासमा लामो दुरीको रकेट प्रक्षेपण गर्ने योजना रहेको संकेत दिएको थियो । त्यस लगत्तै दक्षिण कोरियाले प्योङयाङ संभावित आणविक र क्षेप्यास्त्र परिक्षण रोक्न र त्यस विरुद्ध अन्तर्राष्ट्रिय सहयोगका लागि कुटनीतिक पहल अगाडि बढाएको छ ।

अमेरिका र उसका सहयोगी राष्ट्र विरुद्ध आक्रमक रुपमा प्रस्तुत हुदै आएको उत्तर कोरियाले छ वर्ष देखि बन्द भएको योङब्यान परमाणु संयन्त्र पुनः सुचारु गरेको छ । आणविक हतियार कार्यक्रम जारी राख्न आवश्यक पर्ने प्लुटोनियम सो संयन्त्रबाट उत्पादन हुने प्योङयाङले जनाएको छ ।

उत्तर कोरियाको परमाणु कार्यक्रम रोक्न तथा आणविक निशस्त्रीकरण गर्ने उद्धेश्यले अमेरिका सहितका छ राष्ट्र सम्मिलित वार्ता सन् दुइ हजार नौ देखि अवरुद्ध अवश्थामा रहेको छ ।