असोज ३ गते संविधान जारी हुने भएपछि प्रमुख दलका शीर्ष नेताहरुमा खुसियाली

भदौ ३१,काठमाडौं – असोज ३ गते संविधान जारी हुने भएपछि प्रमुख दलका शीर्ष नेताहरु निकै खुशी देखिएका छन् । संविधानसभा बैठकबाट नयाँ संविधान पारित हुनुलाई ‘ऐतिहासिक’ भन्दै उनीहरुले अब मुलुकमा स्थिरता र समृद्धि हुने विश्वास व्यक्त गरेका छन् ।
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले नेपाली जनताको २००७ सालदेखिको सपना पूरा भएको बताउनु भएको छ । उहाँले सबैको योगदानबाट संविधान पारित भएको भन्दै सबैलाई बधाई दिनु भएको छ् । उहाँले संविधान जारी भएपछि दीपावलीका लागि आह्वानसमेत गर्नु भएको हो ।
नेकपा एमालेका अध्यक्ष केपी ओलीले लामो समयदेखि नेपाली जनताको प्रतिक्षाको घडी समाप्त भई जनताले आफ्ना प्रतिनिधिमार्फत् आफ्नो संविधान बनाउन सफल भएको प्रतिक्रिया दिनु भएको छ ।
सबैको भूमिकाबाट ऐतिहासिक उपलब्धि सम्भव भएको भन्दै ओलीले अब नेपालको राजनीतिक संक्रमण टुंगिएको र दोस्रो संविधानसभा पनि असफल हुने हो कि भन्ने शंका हटेको बताउनु भयो ।
एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले नेपाली जनताको सपना साकार भएको भन्दै यो जनता, राष्ट्र र स्वाभिमानको विजय भएको बताए । उनले संविधान बन्ने प्रक्रियामा त्याग र बलिदान गरेको पार्टीको नेताका नाताले सबै सहिद र घाइते तथा सबै जनतालाई बधाइ दिनु भएको छ । ।