जानकी गाउँपालिकाको सेवा नयाँ प्रशासनिक भवनबाट सुरु

साउन ५, काठमाडौं – बाँकेको जानकी गाउँपालिकाले नयाँ प्रशासनिक भवनबाट सेवा प्रवाह सुरु गरेको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायले नयाँ भवनबाट सेवा सञ्चालनमा आएपछि कर्मचारीलाई नियमित कार्य सञ्चालन गर्न र सेवाग्राहीलाई सेवा लिन सहज भएको उल्लेख गरे  ।
उनले नेपाल सरकारले अघि सारेको सेवा प्रवाहमा सुधार, डिजिटल प्रशासन र नागरिकमैत्री सार्वजनिक सेवाको अवधारणाअनुसार काम गर्न नयाँ भवन प्रभावकारी हुने विश्वास व्यक्त गरे।
गाउँपालिकाको नयाँ प्रशासनिक भवनको उद्घाटन गर्दै अध्यक्ष छब्बन खाँले नागरिकले आधुनिक, व्यवस्थित र नागरिकमैत्री वातावरणमा एउटै छानामुनिबाट सबै सेवा प्राप्त गर्ने बताए ।
उनले भने, “स्थानीय तह बलियो भए मात्रै सङ्घीय शासन व्यवस्थाको उद्देश्य पूरा हुन्छ त्यसैले नयाँ प्रशासनिक भवनले गाउँपालिकाको सेवा प्रवाहलाई अझ व्यवस्थित, छिटो, पारदर्शी र नागरिकमैत्री बनाइनेछ ।”
गाउँपालिकाका अनुसार नयाँ भवनमा अत्याधुनिक प्रशासनिक कार्यालय, बैठक कक्ष, अभिलेख व्यवस्थापन कक्ष, सेवा केन्द्र तथा सेवाग्राहीमैत्री संरचना उपलब्ध छ । यसबाट सामाजिक सुरक्षा, प्रशासनिक सेवा, योजना सिफारिस तथा अन्य सार्वजनिक सेवा प्रभावकारी रूपमा सञ्चालन हुने अपेक्षा गरिएको छ ।
वडा नं ६ का अध्यक्ष जगदीशप्रसाद हरिजनले नयाँ प्रशासनिक भवनले स्थानीय सरकारप्रति नागरिकको विश्वास अझ बलियो बनाउने विश्वास व्यक्त गरे।
स्थानीय नागरिक मोहम्मद अहमद राईले विगतमा भवन अभावका कारण सेवाग्राहीले विभिन्न कार्यालय धाउनुपर्ने अवस्था रहेको स्मरण गर्दै अब सबै सेवा एउटै भवनबाट उपलब्ध हुने भएकाले थप सहज हुने उल्लेख गरे ।
निर्माण कम्पनीको ढिलासुस्तीका कारण करिब छ वर्षदेखि अलपत्र परेको उक्त भवनको निर्माण हालै सम्पन्न भई सञ्चालनमा आएको हो ।  विसं २०७९ मा सम्पन्न हुनुपर्ने भवनको केही काम भने अझै बाँकी रहेको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाका वरिष्ठ लेखा अधिकृत मतिन अहमद अन्सारीले रु चार करोड २२ लाख ८४ हजार ७१० लागतमा थेगिम–श्रीकृष्ण–निशान जेभी कोहलपुरले उक्त भवन निर्माण गरेको थियो ।
तीन तलाको सो भवन अहिले आंशिक रुपमा मात्रै सञ्चालनमा आएको जानकारी दिँदै पूर्ण रुपमा सञ्चालनमा आउन अझै दुई महिना लाग्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *