निर्वाचन क्षेत्र विकास कार्यक्रमको सवा तीन अर्ब रुपैयाँ निकासा हुँदै

माघ २,काठमाडौं- चालु आर्थिक वर्षको बजेटमा छुट्याइएको निर्वाचन क्षेत्र विकास कार्यक्रमको सवा तीन अर्ब रुपैयाँ निकासा हुँदैछ । उक्त रकम आज निकास हुने संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जनाएको छ । सांसदले निर्वाचन क्षेत्र विकास कार्यक्रम सञ्चालन कार्यविधि २०५८ र निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम नियमावली २०७१ अनुसार खर्च गर्नुपर्नेछ ।

माघ मसान्तभित्र आयोजना छनोट गर्नुपर्ने भएकाले संसद्ले बाँकी पाँच महिनामा उक्त रकम खर्चिने गरी निकासा हुन लागेको हो । मन्त्रालयका उपसचिव रमेश अधिकारीले आज सबै जिल्लालाई अख्तियारी जाने जानकारी दिनुभयो । सांसद्ले निर्वाचन क्षेत्र विकासका लागि प्रतिसांसद ५ करोड मागे पनि अनियमितता हुने आशंकामा बिबादका बिच एक करोड मात्र दिने व्यवस्था गरिएको थियो । ०५८ सालदेखि सुरु भएको यो कार्यक्रममा यसअघि प्रत्येक सांसद्लाई आ -आफ्नो निर्वाचनक्षेत्रमा विकास गर्न १० लाख रुपैयाँ दिइन्थ्यो ।