असार १५, काठमाडौं – म्याग्दी नदीको बाढी र कटानको जोखिममा रहेको बेनी नगरपालिका–७ मंगलाघाटमा बस्ति संरक्षण योजना कार्यान्वयनमा आएको छ ।
जलस्रोत तथा सिचाई ब्यवस्थापन आयोजना कास्कीले मंगलाघाट स्थित म्याग्दी नदीको किनारमा ‘कम्पोजित’ प्रविधिको पर्खाल निर्माण गरेको हो । मङ्गलाघाट स्थित म्याग्दी नदीको किनारमा ५५ मिटर लामो कम्पोजित प्रविधिको पर्खाल निर्माण भएको आयोजनाका ईञ्जिनियर नरजङ गुरुङले बताए ।
उहाँका अनुसार नदी किनारको तल्लो भागमा चार मिटर अग्लो आरसिसी र माथिल्लो भागमा तीन मिटर अग्लो ग्यावीयन पर्खाल निर्माण भएको छ । योजना निर्माणका लागि निर्माण कम्पनीसँग २०८२ फागुुन १० गते रु ९९ लाख १९ हजार दुुई सय ९५ मा ठेक्का सम्झौता भएको थियो ।
यही असार १९ गतेसम्म ठेक्का सम्झौताको म्याद रहेकोमा लक्ष्य अघिनै सम्पन्न भएको हो । इन्धन र निर्माण सामग्रीको मूल्यवृद्धिका बावजुद उपकरण र मजदुुर परिचालन तथा निर्माण सामग्री ब्यवस्थापन गरेर समयमै योजना निर्माण गरेको ब्यवसायीले बताएका छन् ।
यसअघि ंगलाघाटमा आयोजना मार्फत विभिन्न चरणमा पाँच सय मिटर भन्दा बढी लामो पर्खाल निर्माण भइसकेको छ । बेनी बजारको पश्चिमी भागमा रहेको मंगलाघाटमा दुई सय भन्दा बढी घर, सरकारी कार्यालय र कर्मचारी आवास भवन छन् ।
आयोजनाले बेनी बजारमा कटान र बाढी नियन्त्रण गर्न विगतदेखिनै आयोजना सञ्चालन भएको छ । बेनीलाई सरकारले नदी कटानका हिसाबले जोखिमयुक्त जिल्ला सदरमुकामको सूचिमा राखेको छ ।
योजनाका प्रमुख विदुर श्रेष्ठले नदी कटान र पहिरोको जोखिममा रहेका म्याग्दी, मुुस्ताङ र पर्वतका १७ स्थानमा सालबसाली योजनाहरु निर्माण सम्पन्न हुने चरणमा रहेका बताए ।
