तनावमा संविधानसभा, अब बैठकमा सर्तकता अपनाइने

माघ २,काठमाडौं-अघिल्लो संविधानसभाले दिन नसकेको संविधान यसपाली पनि पुर्व निर्धारित समयमा नआउने देखिएपछि संविधानसभा दबाबमा मात्रै होइन तवानमा देखिएको छ । प्रक्रियामा जानुपर्ने सत्तापक्षको दबाब र प्रक्रियामा जानै नदिने सत्ताबाहिरका दलको तयारीका कारण संविधानसभा बैठक तनावपूर्ण हुने देखिएको छ।

सहमति जुट्न नसकेपछि सत्तासीन कांग्रेस-एमालेलगायत दलले संविधानका विवादित विषय मतदानबाट टुंग्याउने प्रक्रिया सुरु गर्न सभाध्यक्ष सुवास नेम्बाङलाई दबाब दिएका छन् भने एमाओवादीसहित सत्ताबाहिरका दलले प्रक्रिया अघि बढ्नै नदिने निर्णय गरेका छन्।  संविधान, नियम र स्थापित अभ्यासअनुसार अघि बढ्ने धारणा राख्दै आएका सभाध्यक्ष नेम्बाङ विवादित विषयको टुंगो लगाउन प्रश्नावली समिति बनाउने तयारीमा जुटेका छन्।

कांग्रेस-एमालेका सभासद्ले प्रक्रिया सुरु गर्न भन्दै शुक्रबार बैठक बस्नुअघि दुई तिहाइ बढी सभासद्को हस्ताक्षर  बुझाउने एमाले सभासद् प्रकाश ज्वालाले जानकारी दिए । शुक्रबार बैठकमा तनाव हुन सक्‍ने भन्‍दै  संविधानसभाले सतर्कता अपनाएको छ।

संवाद समितिको प्रतिवेदनमाथि सामान्‍य छलफल  गराएर समिति गठन गर्न सचिवालय अघि बढेको स्रोतले बतायो। यसैबिच सभाध्यक्ष सुवास नेम्बाङले दलहरूले तत्काल सहमति गर्न नसके संविधानसभा नियमावलीअनुसार अघि बढ्ने स्पष्ट पारेका छन्।