महँगियो झिलिमिली बत्ती

कात्तिक २, काठमाडौं – तिहारमा प्रयोग हुने झिलिमिली बत्तीको मूल्य गत वर्षको भन्दा १० प्रतिशतसम्मले वृद्धि भएको छ। नेपाल विद्युतीय व्यवसायी महासंघले गत वर्षको तुलनामा यो वर्ष तिहारमा प्रयोग हुने झिलिमिली बत्तीको मूल्य ८ देखि १० प्रतिशतले वृद्धि भएको बताएको हो।

महासंघले अमेरिकी डलरको मूल्यमा आएको वृद्धि तथा राष्ट्र बैंकको नीतिका कारण बत्तीको मूल्य बढेर आएको महासंघले जनाएको छ। तिहार नजिकिएसँगै बजारमा तिहार केन्द्रित वस्तुहरूको खरिदबिक्री बढ्न थालेको छ।

फूलहरुको र झिलिमिली बत्तीको पर्वको रुपमा मनाइने तिहारका लागि बजारमा बत्ती, भाइ मसला, फूलजस्ता वस्तुहरूहरुको बिक्री तथा खरिद सुरु भएको छ।

अन्य सामानसँगै तिहारमा सबैभन्दा बढी बिक्री हुने झिलिमिली बत्तीको बिक्री पनि बजारमा सुरु भएको महासंघले जनाएको छ। महासंघका महासचिव कमल पोखरेलले बजारमा झिलिमिली बत्तीको माग बढे पनि विगतका वर्षको तुलनामा यो वर्ष बत्तीको आयातमासमेत केही कमी आउने बताए।

उनले आयातमा कमी तथा गत वर्षको तुलनामा विद्युतीय झिलिमिली बत्तीको मूल्यसमेत ८ देखि १० प्रतिशतसम्म बढेको बताए। उनले तातोपानी र रसुवागढी नाका सहजतापूर्वक सञ्चालन नहुँदा र प्रतिपत्र ९एलसी० खोल्ने समयमा शतप्रतिशत रकम राख्नुपर्ने व्यवस्थाले आयात कम भएको बताए।

पोखरेलले गत वर्ष नेपालमा करिब ४० करोडको विद्युतीय बत्ती आयात भएको भन्दै यो वर्ष करिब ३० करोड रुपैयाँ बराबरको आयात हुने अनुमान रहेको बताए।

उनले कोभिडभन्दा अघि वि।सं। २०७६ मा तिहारको समयमा नेपालमा करिब ६० देखि ७० करोड बराबरको झिलिमिली बत्ती आयात हुने गरेकोमा कोभिडपछि २५ करोड बराबरको मात्रै झिलिमिली बत्ती आयात हुन थालेको बताए।

महासचिव पोखरेलले झिलिमिली बत्तीको आयातका लागि नेपालबाट व्यावसायीहरुले अर्डर दिनुपर्ने समयमा चीनका शहरहरुमा लकडाउन भएकाले अर्डर गरेका सामान समयमा नेपाल आइनपुग्दा बजारमा बत्तीहरुको अभाव रहेको बताए।

उनले भने, ‘विगतको भन्दा बजारमा तिहारमा आवश्यक पर्ने झिलिमिली बत्ती कम रहेको छ। सरकारले लिएको पछिल्लो नीतिको कारण आयात कम भएको छ। डलरको मूल्य बढेको कारण पहिलाको तुलनामा थोरै महँगो हुन्छ। बजारमा झिलीमिली बत्तीहरुको मूल्य ८ देखि १० प्रतिशतसम्म बढ्छ। डलरको मूल्य बढेरले मूल्य १० प्रतिशत बढ्न सक्छ। कोभिडभन्दा अगाडि ६० देखि ७० करोडको झिलीमिली बत्ती आयात हुने गरेको थियो। विगतको तुलनामा कोरोना महामारीपछि निरन्तर यस्ता झिलिमिली बत्तीको आयात घटिरहेको छ।

त्यस्तै, विद्युतीय व्यापारीहरुले ग्राहकको मागअनुसार बजारमा तिहारको लागि आवश्यक झिलिमिली बत्ती नभएको बताएका छन्। काठमाडौँका विद्युतीय व्यापारी मनराज खतिवडाले बित्तीहरुको मूल्य बढेर आएको बताए। अर्का व्यापारी दुर्गा सापकोटाले महँगो भए पनि ग्राहकहरुले खोजेको सामान नभएको बताए ।

नेपालमा सामान्य अवस्थामा विद्युतीय सामग्री तथा बत्ती नेपालमा वार्षिक एक अर्बभन्दा धेरैको आयात हुने गरेको छ। जसमध्ये आयात हुने झिलिमिली बत्तीको ८० प्रतिशत खपत तिहारको समयमा हुने महासंघले बताएको छ।