कमेडियन अपूर्व फेरी हिरासतमा

कात्तिक २, काठमाडौं – कमेडियन अपूर्व क्षितिज सिंहलाई प्रहरीले फेरी हिरासतमा लिएको छ ।

नेवारी संस्कृतिमाथि अपूर्वले गरेको स्ट्यान्डअप कमेडीविरुद्ध उजुरीका कारण अपूर्व दसैंअघि नै १२ दिन थुनामा परिसकेका थिए । बिरामीपछि हिरासतबाट छोडिएका उनि सोमबार फेरी पक्राउ परेका हुन् । भिडियो हटाएर माफी माग्दा पनि प्रहरीले थुनिराखेको भन्दै उनको पक्षमा दबाब बढ्न थालेपछि प्रहरीले उनलाई २२ भदौमा साधारण तारेखमा छाडेको थियो । थुनामै रहँदा कोभिड संक्रमण समेत भएको थियो ।

दसैं सकिएपछि काठमाडौं फर्किएका अपूर्व मुद्दा टुंगो लगाउने सोँचमा बाबु जयशंकरको साथमा सोमबार आफै प्रहरीकहाँ पुगेकोमा पुनः प्रहरीले उनलाई हिरासतमा लिएको हो । अपूर्वमाथिको कारबाहीलाई प्रहरीले सामान्य प्रक्रिया भनेको छ । महानगरीय प्रहरी परिसर टेकुका प्रमुख एसएसपी भरत बोहराले अपूर्व बिरामी परेपछि बाबुको जिम्मामा छाडेको र कारबाही नसकिएकोले उनलाई पुनः हिरासतमा लिएको बताए ।

प्रहरीले मुद्दा चलाउने रायसहित मंगलबार सरकारी वकिलको कार्यालयमा अपूर्वको फाइल बुझाएको छ । अब मुद्दाको प्रकृति हेरी केही फाइल सीडीओ कार्यालयकहाँ जानेछ भने केही जिल्ला अदालतमा पेस हुनेछन् । त्यतिन्जेल उनी भने हिरासतमै रहने प्रहरीले जनाएको छ ।

भिडियो हटाएर माफी माग्दा पनि प्रहरीले थुनिराखेको भन्दै उनको पक्षमा दबाब बढ्न थालेपछि प्रहरीले उनलाई २२ भदौमा साधारण तारेखमा छाडेको थियो ।