विचार : फिफा विश्वकपको समूह चरणको पहिलो खेलले देखाएको सङ्केत 

असार ५, काठमाडौं – उत्तर अमेरिकामा जारी २३ औँ संस्करणको विश्वकप फुटबलमा समूह ‘ए’ देखि  ‘एल’ सम्म रहेका १२ वटै समूहको पहिलो चरणका खेल सकिएका छन् ।
पहिलो खेल सकिँदा फ्रान्स, अर्जेन्टिना, इङ्ल्याण्ड र जर्मनीजस्ता पूर्वविजेता टिमहरु विजयी हुँदा पाँच पटकको विश्व विजेता ब्राजिल र एक पटकको विजेता स्पेन बराबरीमा रोकिए । ब्राजिल मोरक्कोसँग एक–एक को बराबरीमा रोकिएको छ भने सन् २०१० को विश्वकप विजेता स्पेन पहिलोपल्ट विश्वकप खेल्दै गरेको अफ्रिकी राष्ट्रसँग गोलरहित बराबरीमा रोकिएको छ । क्रिस्चियानो रोनाल्डोको टिम पोर्चुगलले डिआर कङ्गोसँग एक–एक गोलको बराबरी खेल्यो ।
यस्तै आयोजक मेक्सिकोले दक्षिण अफ्रिकालाई हराउँदा अमेरिकाले पाराग्वेलाई सहजै पाखा लगाएको छ । अर्को सहआयोजक क्यानाडाले पनि युरोपेली छनोटमा इटालीलाई हराएर आएको बोस्नियाहर्जगोविनासँग बराबरी खेलेको छ । यसैगरी एसियाली राष्ट्र दक्षिण कोरियाले चेक गणतन्त्रलाई हराउँदा जापानले नेदरल्याण्ड्ससँग दुई–दुई गोलको बराबरी खेलेको छ । कतारले भने स्वीजरल्याण्डसँग एक–एकको बराबरी गर्दै अङ्क बाँड्दा दुईपटकको विजेता उरुग्वेलाई साउदी अरेबियाले तीन अङ्क खोस्न दिएन र बराबरी भयो । पहिलो खेल जित्ने टोलीको अन्तिम ३२ को यात्रा सहज भएको छ भने बराबरी गर्ने टोलीको पनि सम्भावना माथि नै छ तर पराजित टिमका लागी बाँकी खेलमा सकारात्मक नतिजा ल्याउनुपर्नेछ ।
कूल ४८ राष्ट्रबीच १२ समूहबाट आउने प्रत्येक समूहका विजेता र उपविजेता गरी २४ देशले अन्तिम ३२ मा स्थान पक्का गर्नेछन् भने थप आठ देशको टुङ्गो पनि ती १२ समूहका उत्कृष्ट तेस्रोबाट छानेर समावेश गरिनेछ । विजेता र उपविजेतासँगै तेस्रो हुनेहरूबाट पनि उत्कृष्ट आठ देशलाई अन्तिम ३२ मा लगिने हुँदा समूहका एक खेल जित्ने टोलीले पनि उत्कृष्ट तेस्रो हुँदै अर्को चरणमा पुग्ने सम्भावना बनाउन सक्नेछन् ।
समूह ‘ए’ मा मेक्सिको र दक्षिण कोरिया अगाडि
मेक्सिको र दक्षिण कोरियाले उत्तर अमेरिकी तीन देशमा जारी २३ औँ संस्करणको विश्वकप फुटबलमा अन्तिम ३२ मा जाने सम्भावना बलियो बनाएका छन् । समूह ए का एक–एक खेल सकिँदा यी दुबै टोलीले आफ्ना पहिला खेल जित्दा अन्तिम ३२ का लागि सहज बाटो बनेको हो । मेक्सिको र कोरिया दुबैको तीन–तीन अङ्क छ ।
चार देश रहेको यो समूहमा दक्षिण अफ्रिका र चेक गणतन्त्रले भने आफ्नो पहिलो खेल नै हार्दा अर्को चरणमा जान बाँकी खेलमा राम्रो नतिजा ल्याउनुपर्ने भएको छ । पहिलो खेलको नतिजासँगै समान तीन अङ्क भए पनि गोल अन्तर बढी भएकाले मेक्सिको पहिलो स्थानमा छ । उसले दुई गोल गरेर कुनै गोल खाएको छैन । तीन अङ्क नै भए पनि दक्षिण कोरिया दोस्रो स्थानमा छ । उसले चेक गणतन्त्रलाई हराएर पनि एक गोल खाएको छ । यो समूहमा चेक गणतन्त्र र दक्षिण अफ्रिका दुबै पहिलो खेलमा पराजित भए पनि एक गोल गरेका आधारमा चेक गणतन्त्र तेस्रो स्थानमा छ । दुई गोल खाएर उसले एक गोल फर्काएको थियो ।
दक्षिण अफ्रिकाले दुई गोल खाएर एक गोल पनि गर्न सकेको छैन । अफ्रिका तालिकाको चौथो स्थानमा छ । कोरिया र मेक्सिकोका लागि बराबरीले पनि अन्तिम ३२ को यात्रा तय गर्न सक्छ भने चेक र अफ्रिकाका लागि दोस्रो खेलमा जितले यात्रा सहज बन्न सक्छ भने हारले यात्रालाई कठिन मोडमा पु¥याइदिन सक्छ ।
समूह ‘बी’ मा सबैको समान अङ्क
फिफा विश्वकप २०२६ को समूह बि का एक–एक खेल सकिएका छन् । पहिलो खेल सकिँदा समूहमा रहेका स्वीजरल्याण्ड, क्यानडा, कतार र बोस्नीया हर्जगोविनाले एक–एक अङ्क बटुलेका छन् । सबै टिमले एक–एक गोल गरेका कारण र अङ्क पनि बराबर भएका कारण ती सबैको हैसियता बराबर छ । सहआयोजक क्यानाडाले बोस्नियाहर्जगोविनासँग एक–एक को बराबरी गरेको छ भने अर्को खेलमा एसियाली राष्ट्र कतार र युरोपेली राष्ट्र स्वीजरल्याण्डले पनि बराबरी खेल्दै अङ्क बाँडेका थिए । अब ती चारवटै टिमले दुई–दुई खेल खेल्न बाँकी छ । क्यानाडाले कतार र स्वीजरल्याण्डसँग खेल्न बाँकी छ भने स्वीजरल्याण्डले बोस्नियाहर्जगोविना र क्यानाडासँग खेल्न बाँकी छ ।
यस्तै बोस्नियाहर्जगोविनाले कतार र स्वीजरल्याण्डसँग खेल्न बाँकी छ । अन्तिम ३२ भित्र अटाउन यी सबै टोलीलाई मुख्य तय जितले सहज हुनेछ भने बराबरीले पनि संभावना हट्ने छैन तर हारले भने संभावना कमजोर बन्नेछ ।
समूह ‘सी’ मा ब्राजिल मोरक्कोसँग बराबरीमा
तेइसौँ संस्करणको विश्वकप फुटबलअन्तर्गत समूह ‘सी’ का सबै टिमको पहिलो खेल सकिँदा स्कटल्याण्ड तीन अङ्कसहित शीर्ष स्थानमा छ । स्कटल्याण्डले लामो समय द्वन्द्वबाट गुज्रिएर फेरि फुटबलमा पाइला चालेको हाइटीलाई एक–शून्यले हराउँदै तालिकाको पहिलो स्थानमा उभ्याएको छ । यही समूहको अर्को खेलमा पाँचपल्टको विश्व विजेता ब्राजिल अफ्रिकी देश मोरक्कोसँग एक–एकको बराबरीमा रोकिएको छ । सुरुआती गोल मोरक्कोका इजनेल साइबारीले गरेका थिए । उनले खेलको २१ औँ मिनेटमा गोल गरेका थिए । त्यसपछि ११ मिनेट अग्रता बनाएको मोरक्कोले त्यसलाई निरन्तरता दिन सकेन ।
विश्व फुटबलकै पहिलोदेखि अहिलेसम्म निरन्तर सहभागी ब्राजिलले कमब्याक गर्दै हारबाट त बचायो तर स्पष्ट तीन अङ्क लिन सकेन । समूह ‘सी’ मा शीर्षस्थानको स्कटल्याण्डको तीन अङ्क छ । बराबरी गरेका मोरक्को र ब्राजिलको समान एक–एक अङ्क छ भने हाइटी शून्य अङ्कसहित पुछारमा छ । अब अन्तिम ३२ मा पुग्न स्कटल्याण्डलाई सहज भएको छ भने ब्राजिल र मोरक्को लागि पनि सम्भावना प्रशस्तै छ तर हाइटीका लागि भने आगामी ब्राजिल र मोरक्कोसँगको खेलमा सुखद नतिजा ल्याउन अत्यावश्यक छ ।
समूह ‘डी’ मा अमेरिका र अष्ट्रेलियाको समान अङ्क
फिफा विश्वकप फुटबलमा अष्ट्रेलियाले टर्कीलाई हराएसँगै समूह ‘डी’मा आयोजक अमेरिका र अष्ट्रेलियाको समान तीन–तीन अङ्क भएको छ । एशियाली क्षेत्रको प्रतिनिधित्व गर्ने अष्ट्रेलियाले आइतबार विश्वकप फुटबलमा तेस्रो स्थान हासिल गरिसकेको टर्कीलाई दुई–शून्यले हराउन सफल भएको थियो । यसअघि यही समूहको पहिलो खेलमा आयोजक अमेरिकाले पाराग्वेलाई चार–एकले हराएको थियो । समूह तालिकामा अमेरिका समान तीन अङ्क भए पनि पहिलो स्थानमा छ । उसले चार गोल गरेर एक गोल खाएको छ । तीन अङ्क नै भए पनि अष्ट्रेलियाले दुई गोल गरेको छ । तसर्थ, गोल अन्तरमा अमेरिका अगाडि छ । यस्तै पराजित भएर पनि कम गोल खाएका कारण टर्की तेस्रो स्थानमा छ । उसले दुई गोल खाएको छ । पाराग्वे भने चार गोल खाएर एक गोल गर्दै तालिकाको पुछारमा छ । अब अन्तिम ३२ भित्र प्रवेश गर्न अमेरिका र अष्ट्रेलियाका लागि बराबरी पनि काफी हुन सक्नेछ भने पाराग्वे र टर्कीका लागि जित आवश्यक देखिन्छ । पाराग्वे र अमेरिकाले अब अष्ट्रेलिया र टर्कीसँग खेल्न बाँकी छ ।
समूह ‘इ’ मा जर्मनी बलियो, आइभरीकोष्ट पछ्याउँदै
नवप्रवेशी कुरासाओलाई भारी अन्तरले हराएपछि समूह ‘इ’ मा जर्मनी बलियो देखिएको छ । सात–एक अन्तरको जित बटुलेको चार पटकको विश्व विजेता जर्मनीको समूहमा पहिलो खेल सकिदा तीन अङ्क भएको छ । पहिलो खेलमा इक्वेडरलाई एक–शून्यले हराएको अफ्रिकी देश आइभरीकोष्टको पनि तीन अङ्क छ । पहिलो खेल सकिदासम्म जर्मनी तीन अङ्कसहित पहिलो स्थानमा छ । समान तीन अङ्क नै भए पनि गोल अन्तरमा पछि पर्दै आइभरीकोष्ट दोस्रो स्थानमा छ । जर्मनीले सात गोल गरेर मात्र एक गोल खाएको छ भने आइभरीकोष्टले एक गोल गरेर विपक्षीबाट कुनै गोल खाएको छैन ।
यो समूह ‘इ’ को तालिकामा इक्वेडर तेस्रो स्थानमा छ भने कुरासाओ चौथो स्थानमा छ । इक्वेडरले कुनै गोल गर्न नसकेपनि मात्र एक गोल खाएको छ भने कुरासाओले एक गोल गरेर तीन गोल खाएको छ । अब अन्तिम ३२ मा जान जर्मनी र आइभरीकोष्टलाई सहज भएपनि इक्वेडर र कुरासाओको संभावना सकिएको भने छैन । अबका बाकी खेल कुरासाओ र इक्वेडरका लागि अझ महत्वपूर्ण हुनेछ । जित या बराबरीले अर्को खेलसम्म सम्भावनाको प्रशस्तै आधार बन्न सक्छ । हारको नतिजाले भने पहिलो चरणबाटै घर फर्काउने बाटो बन्न सक्छ ।
बलियो देखिएको जर्मनीले अब आइभरीकोष्ट र इक्वेडरसँग खेल्न बाँकी छ भने  कुरासाओले पनि आइभरीकोष्ट र इक्वेडरसँग खेल्न बाँकी छ । यस्तै आइभरीकोष्टले जर्मनी र कुरासाओसँग तथा इक्वेडरले कुरासाओ र जर्मनीसँग खेल्नेछ ।  विगतका इतिहास हेर्ने हो भने जर्मनी चारपटक विजेता, चारपटक उपविजेता र चारपटक नै तेस्रो भएको छ । कुनै समय फ्रान्सको एक हिस्सा रहेको आइभरीकोष्ट स्वतन्त्र भएपछि सन् २००६ मा पहिलोपल्ट विश्वकप २००६ मा छनोट भएको थियो । उसले सन् २०१० र २०१४ गरी अहिलेसम्म तीन विश्वकपमा सहभागिता जनाएको छ । इक्वेडरले चौथो विश्वकपमा सहभागिता जनाइरहँदा सन् २००६ मा अन्तिम १६ सम्म पुग्न सकेको थियो । कुरासाओ भने पहिलोपल्ट विश्वकपमा सहभागिता जनाउँदैछ ।
समूह ‘एफ’मा स्वीडेन अगाडि, जापान र नेदरल्याण्ड्स पछ्याउँदै
समूह ‘एफ’ मा स्वीडेन तीन अङ्कसहित पहिलो स्थानमा छ । विश्वकप फुटबलको इतिहासमा तीनपटक फाइनल पुगेर उपविजेतामै चित्त बुझाएको नेदरल्याण्ड्स र एशियाली फुटबलको पावरहाउस जापान एक–एक अङ्कसहित समूहमा दोस्रो स्थानमा छन् । अफ्रिकी देश ट्युनेसिया बिना कुनै अङ्क समूहमा पुछारमा छ । सन् १९३४ को दोस्रो संस्करणको विश्वकपदेखि सहभागी हुँदै आएको स्वीडेनले जारी विश्वकपको आफ्नो पहिलो खेलमा ट्युनेसियालाई पाँच– एक गोल अन्तरले हराएको छ । यो समूह अन्र्तगत जापान र नेदरल्याण्ड्सले दुई–दुई गोलको बराबरी खेलेका छन् । अन्तिम ३२ मा पुग्न स्वीडेनलाई सहज भएको छ भने जापान र नेदरल्याण्ड्सको पनि सम्भावना बलियो छ । तर ट्युनेसियाले भारी अन्तरले हारेका कारण जीतको विकल्प छैन । जापानले अब स्वीडेन र ट्युनेसियासँग खेल्न बाँकी छ । स्वीडेनले जापानसँगै नेदरल्याण्ड्ससँग पनि भिड्न बाँकी छ ।
यसैगरी नेदरल्याण्ड्सले स्वीडेनसँगै ट्युनेसियासँग खेल्न बाँकी छ । समूहको पुछारमा रहेको टोली ट्युनेसियाले जापान र नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्न बाँकी छ । जित या बराबरीले ट्युनेसियाको अर्को खेलसम्म सम्भावनाको प्रशस्तै आधार बन्न सक्छ । हारको नतिजाले भने पहिलो चरणबाटै घर फर्काउने बाटो बन्न सक्छ । स्वीडेनले बाँकीका खेलमा बराबरी मात्रैले पनि अर्को चरणमा पु¥याउन सक्छ । जापान र नेदरल्याण्ड्सका लागि अबको खेलमा जित हासिल गरे अन्तिम ३२ को यात्रा समूह चरणको अन्तिम खेलअघि नै सहज हुनेछ भने हारले चुनौती थप्नेछ ।
स्वीडेन एक पटकको उपविजेता र दुईपटकको विश्वकपमा तेस्रो भएको टोली हो । नेदरल्याण्ड्स तीनपटक उपविजेता र एकपटक तेस्रो भएको टोली हो । जापान विश्वकपमा अन्तिम १६ भन्दा माथि जान सकेको छैन भने ट्युनेसीयाले समूहचरण पार गर्न सकेको छैन ।
समूह ‘जी’मा बेल्जियम दबाबमा
समूह जीमा रहेका सबै चार वटै देशको एक–एक अङ्क छ । न्युजिल्याण्ड, इरान, बेल्जियम र इजिप्टको समान एक–एक अङ्क छ । तैपनि बढी गोल गरेका आधारमा तालिकामा न्युजिल्याण्ड र इरान अगाडि छन् । उनीहरुले दुई–दुई गोल गरेका छन् । पहिलो खेलमा न्युजिल्याण्ड र इरानले दुई–दुई गोलको बराबरी खेलेका थिए । समान एक–एक अङ्क भएपनि एक–एक गोल मात्र गरेका कारण बेल्जियम र इजिप्ट न्युजिल्याण्ड र इरानभन्दा तल छन् । समान गोल अन्तर भए पनि बढी गोल गरेका आधार बेल्जियम र इजिप्ट तल परेका हुन् ।
सन् २०१८ को विश्वकपमा तेस्रो स्थान ल्याउन सफल टोली बेल्जियम १५ औँ पटक सहभागिता जनाउने क्रममा दबाबमा छ । अब उसका लागि बाँकी दुबै खेलमा राम्रो नतिजा ल्याउनुपर्नेछ । अरु प्रतिस्पर्धी टिमले पनि नकारात्मक नतिजा ल्याए उ कम दबाबमा रहनेछ तर दोस्रो खेलमा पनि उस्तै बराबरी नतिजा आएको खण्डमा भने अरु देशलाई लक लाग्दै बेल्जियम दुर्भाग्यको शिकार बन्न सक्छ ।
पहिलो र दोस्रो विश्वकपमै सहभागी थियो बेल्जियम । दोस्रो विश्वकप पछि एकैपल्ट सन् १९९० को विश्वकप र २०१८ को विश्वकप पछि चौथोपल्ट सहभागीे इजिप्टको एक अङ्क छ । फिफा बरियतामा नवौं स्थानमा रहेको बेल्जियनलाई उपाधि दाबेदारको सूचीबाट हटाउन सकिँदैन । इरानका लागि अबका दुई खेल बेल्जियम र इजिप्टसँग हुनेछ । कमब्याक गरेर हारबाट जोगिएको इरानका लागि अन्तिम ३२ मा जान अबका दुई खेलमा एकमा जित र एकमा बराबरी काफी हुनेछ । इजिप्ट र न्युजिल्याण्डका लागि पनि सुखद नतिजा आवश्यक छ ।
समूह ‘एच’मा स्पेनसँगै सबैको एक–एक अङ्क
उत्तर अमेरिकी महादेशमा जारी विश्वकपमा समूह ‘एच’ मा रहेका सबै चारवटै देशको एक–एक अङ्क छ । एसियाली राष्ट्र साउदी अरेबिया, एक पटकको विश्वकप विजेता स्पेन, दुई पटकको विजेता उरुग्वे र नवप्रवेशी अफ्रिकी मुलुक केप भेर्डेको समान एक–एक अङ्क छ भने साउदी र उरुग्वेले मात्रै एक–एक गोल गरेका छन् । स्पेन र केपे भेर्डे गोलवीहिन छन् ।
अन्तिम ३२ मा जाने टोलीको टुङ्गो लाग्न समूह चरणमा बाँकी रहेका दुई खेल आवश्यक पर्नेछ । तर अब हुने दोस्रो खेलले पनि को को अगाडि बढ्नेछन् , त्यसको एक खाले छनक दिनेछ । यो समूहको पहिलो खेलमा युरोपको एक अनुभवी एवं विश्व विजेता तथा युरोपियन विजेता भइसकेको स्पेन बराबरीमा रोकेको छ । अब साउदी अरबले स्पेन र केपे भेर्डेसँग खेल्न बाँकी छ भने उरुग्वेले पनि स्पेन र केपे भेर्डेसँग खेल्न बाँकी छ । केर्पे भेर्डे र स्पेनले साउदी अरब र उरुग्वेसँग खेल्न बाँकी छ ।
समूह ‘आई’ मा फ्रान्स र नर्वे अगाडि
समूह चरणको पहिलो खेल सकिदा समूह ‘आई’मा दुई पटकको विश्वविजेता फ्रान्स र २८ वर्षपछि विश्वकपमा फर्किएको नर्वेको समान तीन–तीन अङ्क छ । यो समूहको पहिलो खेलमा पराजित सेनेगल र इराकको शून्य अङ्क छ । समूहको पहिलो खेलमा किलियन एम्बाप्पेको दुई गोलको मद्दतमा फ्रान्सले सेनेगललाई तीन–एक ले हराएको छ भने अर्को खेलमा नर्वेले इराकलाई चार–एक गोल अन्तरले पाखा लगाएको छ । तीन अङ्क नै भए पनि नर्वे फ्रान्स भन्दा माथि पहिलो स्थानमा छ । हारेपनि कम गोल खाएका कारण सेनेगल तेस्रो र इराक चौथो स्थानमा छ ।
समूह ‘जे’ मा अर्जेन्टिना र अष्ट्रिया अगाडि
समूह चरणको पहिलो खेल सकिँदा समूह ‘जे’ मा तीन पटकको विश्वविजेता अर्जेन्टिना र अष्ट्रियाले तीन–तीन अङ्क जोडेका छन् । जोर्डन र अल्जेरियाको कुनै अङ्क छैन । अब अन्तिम ३२ मा पुग्न जोर्डन र अल्जेरियालाई अर्को खेलमा जित आवश्यक छ । पहिलो खेलमा जितेका अर्जेन्टिना र अष्ट्रियालाई बराबरी मात्रले पनि अर्को चरणमा पु¥याउने छ । यो समूहमा लियोनियल मेसीको किितमानी ह्याट्रिकसँगै अर्जेन्टिनाले अल्जेरियालाई तीन–शून्यले हराएको छ । यो खेलको तीन गोलसँगै मेसीले विश्वकपमा सर्वाधिक गोलकर्ता जर्मनीका मिरोस्लाभ क्लोजको १६ गोल संख्या बराबरी गरेका छन् । यो समूहमा  अष्ट्रियाले जोर्डनलाई तीन–एकले हराएको छ ।
समूह ‘के’ मा पोर्चुगल दबाबमा, कोलम्बिया ढुक्क
जारी विश्वकपको समूह ‘के’ मा क्रिस्चियानो रोनाल्डोको टिम पोर्चुगल दबाबमा छ । आफ्नो पहिलो खेलमा डिआर कङ्गोसँग बराबरीमा रोकिएसँगै अब अर्को चरणमा जान बाँकी रहेका खेलमा कम्तिमा एक जित आवश्यक देखीन्छ । यो समूहमा कोलम्बियाले उज्बेकिस्तानलाई तीन–एकले हराएको छ । पहिलो खेल सकिँदासम्म कोलम्बिया तीन अङ्कसहित पहिलो स्थानमा रहँदा पोर्चुगल र कङ्गोको समान एक–एक अङ्क छ भने एसियाली राष्ट्र उज्वेकिस्तान बिना अङ्क पुछारमा छ । कोलम्बियाका लागि बाँकी रहेका खेलमा बराबरी मात्रैले पनि अर्को चरणमा पु¥याउन सक्छ तर उज्वेकिस्तानलाई जीतको विकल्प रहनेछैन ।
समूह ‘एल’ मा इङ्ल्याण्ड र घाना अगाडि, क्रोयसिया दबाबमा
विश्वकप फुटबलको समूह ‘एल’ मा पूर्व विजेता इङ्ल्याण्ड र अफ्रिकी देश घानाले तीन–तीन अङ्क बनाएका छन् । ह्यारी केनको दुई गोलमा इङ्ल्याण्डले क्रोयसियालाई चार–दुई अन्तरले हराउँदा घानाले पानामालाई एक–शून्यले पाखा लगाएको थियो । अर्को चरणमा पुग्न इङ्ल्याण्डका लागि बराबरी पनि पर्याप्त हुन सक्नेछ भने क्रोयसियाका लागी जित आवश्यक छ । यो समूहमा पानामाका लागि जितको विकल्प रहनेछैन । तुलनात्मक रुपमा पानामा अरु देशभन्दा कमजोर देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *