अक्सिजन प्लान्ट निर्माण गर्न बजेट निकासा

असार १, काठमाडौ – पाल्पाको रामपुरमा रहेको रामपुर अस्पतालका अक्सिजन प्लान्ट स्थापना गर्न बजेट निकासा भएको छ । पाल्पा, स्याङ्जा, तनहूँ र नवलपरासीका नागरिकले सेवा लिने कालीगण्डकीवेशीकै ठूलो अस्पतालका रुपमा स्थापित अस्पतालमा अक्सिजन प्लान्ट र एचडिओ स्थापना गर्न सङ्घीय सरकारले रु एक करोड ५५ लाख बजेट विनियोजन गरेको थियो ।

सो रकममध्ये अक्सिजन प्लान्टका लागि रु ७५ लाख तथा एचडियू निर्माणका निम्ति रु ८० लाख बजेट निकासा भएको पूर्वमन्त्री तथा सङ्घीय सांसद दलबहादुर रानाले जानकारी दिए । सरकारले पाल्पासँगै देशका छ अस्पतालमा थप स्वास्थ्य सेवा विस्तारका निम्ति रकम निकासा गरेको छ ।
सरकारले पाल्पाको रामपुर अस्पताल, म्याग्दीको बेनी अस्पताल, रुकुम पूर्वको रुकुम अस्पताल, प्यूठान अस्पताल बिजुवार, रोल्पा अस्पताल र चौरजहारी अस्पालका निम्ति अक्सिजन प्लान्ट खरीद तथा जडान, पाँँच शय्याको एचडियू, ५ शैंयाको आइसियू र दुईवटा भेन्टिलेटर जडान गर्न स्रोत सहमति माग भएअनुसार रु सात करोड ७० लाख विनियोजन भएको अर्थ मन्त्रालयले जनाएको छ ।

रामपुर अस्पतालमा अक्सिजन प्लान्ट निर्माणको लागि बजेट विनियोजन भएको खवरले निकै खुसी लागेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा विजय परियारले बताए । विभिन्न चार जिल्लाका दैनिक करीब ३०० नागरिकले सेवा लिने कुरा निकै खुसीको विषय भएको बताए ।