नेपालगन्जमा एक साता ‘निषेधाज्ञा ’,अत्यावश्यक बाहेक हिड्न समेत नपाइने

वैशाख ९, बाँके-बाँकेको नेपालगन्ज उप–महानगरपालिका क्षेत्रमा एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ ।

द्रुत गतिमा कोरोना संक्रमण फैलिरहेको भन्दै जिल्ला प्रशासन कार्यालय बाँकेले एक साताका लागि नगर क्षेत्रमा निषेधाज्ञा जारी गरेको हो ।

बुधबार राति १२ बजेदेखि आगामी बैशाख १५ गते राति १२ सम्म लागु हुने गरी निषेधाज्ञा जारी गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारीद्धारा जारी आदेशमा उल्लेख गरिएको छ ।

यसअघि मंगलबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले कोरोना संक्रमण दरको साङलो तोड्नको लागि एकसाता लकडाउन वा निषेधाज्ञा जारी गर्न प्रजिअलाई सिफारिस गरेको थियो ।

बाँकेका प्रजिअ शिवराम गेलालद्धारा बुधबार जारी गरिएको आदेशमा नेपाल सरकार (मन्त्रिपरिषद्) को मिति २०७८–०१–०६ को आदेश, संक्रामक रोग ऐन २०२० को दफा २ र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(३) बमोजिम र २०७८–०१–०७ बसेको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रको विश्लेषण एंव सिफारिसका आधारमा कोरोनाको फैलावटको साङलो तोड्नको लागि निधेषाज्ञा जारी गरिएको उल्लेख छ ।

गेलालद्धारा जारी आदेशमा अत्यावश्यक सेवा र सो का लागि आवश्यक साधन बाहेक सबै प्रकारका सेवा बन्द गर्ने बताइएको छ ।

‘अन्य सबै प्रकारका सेवा (बैंक तथा वित्तीय संस्थासमेत), सवारी साधन, पसल व्यवसाय सञ्चालन र अत्यावश्यक कामबाहेकको हिँडडुलमा समेत निषेध गर्ने’, प्रशासन कार्यालयबाट जारी आदेशमा भनिएको छ ।