कामपा १० का वडाअध्यक्ष भन्छन् ‘मास्क लगाउ भन्दा मानिसहरु स्वास्थ्य पढाउन थाल्छन् ’

काठमाडौ महानगरमा संक्रमितको संख्या बढ्दै जानुको मुख्य कारण मानिसहरुको अटेरीपन रहेको वडा नम्बर १० का बडाअध्यक्ष राम कुमार केसीले बताएका छन् । संक्रमित बढ्दै गएकाले वडाले एक सुचना जारी गर्दै आजबाट लागु हुने गरि अत्यावश्यक काम बाहेक अन्य सेवाहरु बन्द गर्ने निर्णय गरेको छ ।

इमेल खवरसंग कुराकानी गर्दै वडाअध्यक्ष रामकुमार केसीले भने ‘संक्रमितको संख्या बढ्दो छ, नागरिकहरुले स्वास्थ्य मापदण्ड नअपनाएको हुनाले हामी सेवा बन्द गर्न बाध्य भएका हौ ।’  अर्को सुचना नआएसम्म सेवाग्राहीहरुलाई केहि सेवा प्रभावित हुने उनले बताए ।  सरकारले नागरिकलाई बारम्बार अति आवश्यक काम बाहेर बाहिर ननिस्कन अपिल गरिरहेको छ । तर, नागरिकहरुले सरकारको आग्रहलाई वेवास्ता गरेको केसीले बताए । उनले भने ‘मानिसहरु त्यस्ता कामका लागि पनि वडामा आइरेहका हुन्छन कि जुन तत्काल आवश्यक नै छैन ।’

पिसिआर टेस्ट पश्चात आइसोलेशनमा नबस्नु, पोजेटिभ रिपोर्ट हुदा पनि अवस्था सामान्य छ भन्दै मानिसहरु बाहिर निस्किरहेका उनले बताएका छन् । यस्ता कारणले संक्रमण फैलन मद्धत पुगिरहेको उनको भनाइ छ  । मानिसहरुलाई अनिवार्य मास्क लगाउ भन्दा आफैले गाली खानु परेको उनले अनुभव सुनाए । अनुभव सुनाउदै उनले भने ‘मास्क लगाउ भन्दा मानिसहरु स्वास्थ्य पढाउन थाल्छन् ’

जनप्रतिनिधिहरुले सुरक्षित रहन बारम्बार अपिल गर्दा नागरिकहरुले अटेर गरेको उनको भनाई छ ।  यस वडामा ४०० जना कोरोना संक्रमित भइसकेका छन् भने छ जनाको मृत्यु भइसकेको छ ।