प्रदेश पाँचका मुख्यमन्त्रीको दावि : देउवाले बुटवललाई अस्थायी राजधानी तोकेका थिए, प्रदेशले स्थायी राजधानी तोकेको हो ?

असोज २०, वुटवल- प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नै बुटवल प्रदेशको अस्थायी राजधानीको रूपमा रहने कहिल्यै कहिँ नभनेको बताएका छन्।

देउवा प्रधानमन्त्री भएका बेला प्रदेशको अस्थायी राजधानी तोकिएको प्रसंग निकाल्दै उनले त्यसपछि प्रदेशका जिल्ला भ्रमणमा देउवाले प्रदेशको स्थायी राजधानी तोक्ने अधिकार प्रदेश सभालाई नै भएको बताउने गरेको उल्लेख गरे।

मंगलबार प्रदेशसभामा सम्बोधन गर्दै उनले त्यसबेला सभापति देउवाले बोलेका रेकर्ड सुरक्षित रहेको पनि बताए।

कांग्रेस सांसदले बुटवललाई नै प्रदेशको राजधानी बनाउनु पर्ने अडान राखेका छन्। प्रदेश सरकारले राजधानी दाङ देउखुरी राख्ने प्रस्ताव पेश गरेको छ, जुन प्रस्तावमाथि आज मतदान हुँदैछ।

सरकारले राखेका प्रस्तावमा फरक मत राखेको कांग्रेसप्रति लक्षित गर्दै मुख्यमन्त्री पोखरेलले भने, ‘नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले प्रदेशको अस्थायी राजधानी तोक्ने काम गर्नुभयो। त्यसपछि प्रदेश ५ का जिल्ला आउँदा उहाँले हरेक सभामा भनेका भनाइ मलाई सम्झना छ। उहाँले अस्थायी राजधानी न तोकेको हो। स्थायी तोक्ने अधिकार प्रदेशसभामा छ भन्नुभएको थियो, रेकर्ड सुरक्षित छ।’