प्रवक्ता डा. सेढाई भन्छन् – ‘ जोखिम झन झन बढ्न थाल्यो, व्यवहार परिवर्तनमा ध्यान दिउ’

काठमाडौ – देशको संघीय राजधानी समेत रहेको बागमति प्रदेश अहिले कोरोनासँग जुधिरहेको छ । देशको सबै भन्दा बढि जनघनत्व भएको यो प्रदेशमा कोरोना संक्रमणको दर निकै उच्च छ । हरेक दिन कोरोना संक्रमितको संख्या बढिरहेकोले सचेत रहन समेत अपिल गरिएको छ । दशै, तिहार जस्ता महत्वपूर्ण चाडपर्व समेत नजिकिदै गएको जादा थप जोखिम समेत देखिन्छ । हालको बागमती प्रदेशको कोरोना कहरको अवस्था, प्रदेश सरकारले अहिले गरेका उपलब्धि, कोरोना महामारी रोकथामको उपाय, र भावि योजनाका विषयमा इमेल खबर डटकमले बागमती प्रदेश सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा.पुरुषोतम राज सेढाईसँग गरिएको कुराकानी –

बागमती प्रदेशमा कोरोना संक्रमण बढिरहेको छ । प्रदेश सरकारले यसलाई कसरी हेरिरहेको छ ?

हो, केही हप्तायता बागमती प्रदेशमा कोरोना संक्रमणको दर निकै बढिरहेको छ । यसको दुइवटा कारण छ, एउटा भित्री संक्रमण, अर्र्र्र्काे बाहिरबाट दैनिक भित्रिने व्याक्तिहरु हुन । जस्ले संक्रमण बोकेर काठमाडौ भित्रिन्छन । मुख्यत यी दुई कारणले प्रदेशमा कोरोना दरले अपेक्षित रुपमा बढिरहेको हो । बढ्ने क्रममा छ ।

देशभर समुदायस्तरमा कोरोना फैलिएर भयावह स्थिति बन्दैछ, बागमतीमा पनि समुदाय स्तरमा कोरोना संक्रमण पुगिसकेको हो ?

यसलाई यसरी हेर्न सकिन्छ होला । अहिले भन्ने हो भने, देशको कुल संक्रमित मध्ये आधा संक्रमित वागमतीे प्रदेशमा छन् । यो कारणको कारण भनेको जनसंख्या बढि भएकोले पनि होे । देशको संघीय राजधानी समेत यही भएकोले यहाँ देशभरका बहुसंख्यक नागरिक बसोबास गर्छन् । अर्को भनेको जोखिमपूर्ण व्यवहार पनि हामीसँग छ । त्यसले गर्दा समुदायमा कोरोना गयो की गएन भनेर केन्द्रीत हुनु भन्दा पनि जब जोखिम बढि छ, संक्रमणको लागि भाइरस उपलब्ध छ भने सबै भन्दा बढि चिन्ताको विषय हो । जुन बागमति प्रदेशमा अधिक देखिएको छ । अहिले सबै भन्दा बढि जन सम्पर्क हुने ठाउँमा संक्रमण देखिएको छ । सुरक्षा निकाय, स्वास्थ्य क्षेत्र, बैकहरु सबै भन्दा जोखिम क्षेत्रका रुपमा रहेका छन् । यो सबै ठाउँमा छ । हामीले जोखिम कम गर्नको लागि व्यक्ति व्यक्तिको दुरी कायम गर्नु पर्ने हो । भइरहेको छैन । यसले गर्दा हामी बढि सजक हुनुपर्ने देखिन्छ । जोखिमपूर्व व्यवहार कम गर्नु नै अहिलेको हाम्रो चूनौति हो ।

प्रदेश सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि के–के काम गरेको छ नी ?

अहिले यहाँ संक्रमण निकै बढेको छ । शुरुमा बागमति प्रदेशमा संक्रमण दर निकै कम थियो । देशको करिब ५ प्रतिशत मात्रै संक्रमण यहाँ थियो । जब लकडाउन खुल्यो । हरेक क्षेत्र चलायमान भए । बाहिरबाट मानिसहरु आउन थाले । त्यसपछि यहाँ कोरोना संक्रमण बढेको हो । कोरोना संक्रमण दर बढिरहेकोले हामीले नयाँ रणनीति अपनाएका छौ । सबैभन्दा महत्वपूर्ण भनेको यहाँका नागरिकहरुलाई चेतना फैलाउने हो । त्यसको लागि बागमति प्रदेशले सूचना प्रवाहलाई निकै ध्यान दिएको छ । यस्तै संक्रमितको खोजी र फलोअपका लागि एउटा टिम निर्माण गरेका छौ । यो टिम प्रदेशका १३ वटै जिल्लामा छ । प्रत्येक जिल्लामा कम्तिमा ३ वटा भन्दा बढि टिम छ । त्यो टिमले अहिले दिनरात नभनि काम गरिरहेको छ । प्रदेशमा १ सय ७८ वटा टोली क्रियाशिल छ । ती टोलीले सबै जिल्लामा काम गरिरहेका छन् । संक्रमण बढिरहेपनि टोलीले संक्रमण दर रोक्न उल्लेख्य काम गरेको छ । उनीहरुलाई सल्लाह दिने देखि सुझाव दिने गरेको छ । अहिले प्रदेशमा आइसियू र भेन्टिलेटरको संख्या बढाउने काम भइरहेको छ । अन्य निकायसँग समेत कोरोना रोकथामको लागि समन्वय भइरहेको छ ।

कोरोना संक्रमितको सहज उपचारका लागि यहाँको सम्पूर्ण भौतिक संरचना उपलब्धताको अवस्था के छ ?

यहाँको अवस्थाको कुरा गर्दा, प्रदेशसँग अहिले भएको हो आइसियू र भेन्टिलेटरमा चाही ५० प्रतिशत अकुपेन्सी छ । यसको अर्थ भनेको हामीलाई तत्काल यिनीहरुको प्रयोग गर्नु पर्यो भने हामीसँग तयारी अवस्थामा छ । तर पछि आइसियू र भेन्टिलेटरंंको उपलब्धता हाम्रो लागि निकै चूनौति पूर्ण हो । यद्यपी यो विषय अहिले नै हाम्रो लागि पेचिलो भएको छैन । संक्रमण झन बढ्यो भने हामीलाई समस्या हुन सक्छ । हेटौडामा १० बेडको आइसियूका व्यवस्था गरिएको छ । त्रिसुली र भक्तपुरमा काम भइसकेको छ । बिरामी समेत भर्ना भएर उपचार गरिरहेका छन् । सिन्धुलीमा समेत व्यवस्थापन भइरहेको छ । अन्य अस्पतालमा थप तयारी पनि भइरहेको छ । तर अहिले भने आइसियू र भेन्टिलेटर नपाएर मर्ने अवस्था छैन । मुख्य चूनौति भनेको संक्रमण दर कसरी रोक्ने भन्ने हो । सोही अनुसार हाम्रा गतिविधि सन्तुलित रुपमा अघि बढिरहेका छन् ।

स्वास्थ्य मन्त्रालयले २५ हजार संक्रमित संक्रमित पुगेमा पुनःलकडाउन हुन सक्ने बताएको छ, बागमति प्रदेशको अवस्था चाँही कस्तो छ ?
अहिले चाँही धेरै कुराहरु अनुमानमा गरेको देखिन्छ । अनुमान र लेखाजोखा भन्ने कुरामा के हुन्छ भन्ने कुरा भोलीले बताउँला । अहिले बागमति प्रदेशको दृष्टिमा रोकथामको लागि हामी लागि परेका छौ । भौतिक संरचनाको अवस्थामा राम्रो छ । अपुग छैन । थप संरचना थप्ने काम पनि भइरहेको छ । यदि भोली लकडाउन कै स्थिति आयो भने पनि हामीसँग व्यवस्था छ । कहालीलाग्दो स्थिति छैन । हामी तयारी अवस्थामा छौ । हामी स्वास्थ्य मन्त्रालयको जस्तो तोकेर भनेका छैनौ । त्यस्तो सोच पनि बनाएका छैनौ । तर भोलीको सम्भावनालाई मध्यनजर गरेर त्यो अनुसार तयारी हामीले गरिरहेका छौ । पक्कै हाम्रो अहिलेको तयारीले भोली आउन अवस्थामा फेस गर्न सक्छ ।

दशै तथा तिहार जस्ता चाडपर्व आउँदैछन, बढ्दो जोखिमलाई मध्यनजर गर्दै प्रदेशले केही योजना बनाएको छ ?

हामी अहिले पनि २४ सै घण्टा सेवा दिइरहेका छौ । प्रदेश सरकार जनताको सुरक्षाको लागि हरदम तयार छ । तपाईले भन्नु भएको जस्तो, दशै, तिहार जस्ता चाडपर्व आउँदैछन् । यसमा व्यक्तिहरु समूहमा बढि हुने सम्भावना देखिन्छ । यसले गर्दा अलि बढि जोखिम छ । यसमा सवै सचेत हुन जरुरी छ ।

अन्त्यमा,
व्यवहार परिवर्तन नै अहिलेको आवश्यकता हो । सबैलाई मेरो अनुरोध छ । भौतिक दुरी कायम गरौ । अनिवार्य मास्क लगाऔ । कोरोना महामारीको विषयमा सबै एकजुट बनौ । हाम्रो अपिल यही हो ।