सुकुम्बासीलाई चिन्ता – ‘न पाइन्छ काम, न छाक टार्न माम’

असोज ७, बाँके – हस्त बहादुर गन्धर्व भूमिहीन हुन् । तीन वर्षयता उनको परिवार सुकुम्बासी बस्तीमा बस्दै आएको छ । हाल बाँकेको कोहलपुर १२ मा बस्दै आएका उनी सुर्खेतबाट आएका थिए । उनको जिविकोपार्जनको प्रमुख स्रोत ज्याला मजदुरी हो । उनी दैनिक मजदुरी गरेर पाँच जनाको परिवार पाल्दै आएका छन् ।

तर सात महिनायता विश्वभरी महामारीको रुपमा फैलिरहेको कोरोना कहरको प्रत्यक्ष मारमा उनको परिवार पनि परेको छ । उनी गत चैत्र यता कामविहीन भएका छन् ।‘चार महिना त घर मै बसियो । काम नगरे सम्म खाना लाउन समस्या थियो । यो बेलामा झन निकै समस्या भयो । अहिले पनि बजारमा जाँदा काम पाइदैन ।’ उनले भने । कोरोनाले हामी जस्ता गरिबलाई रोगले भन्दा भोकले मर्ने बनायो । अझै केही समय यस्तै अवस्था रहने हो भने यसै भन्न सकिने अवस्था छैन । उनले न राम्रो बस्ने बाँस, न खाने गाँस कोरोनाले भूमिहीन र सुकुम्बासीलाई निकै ठूलो समस्यामा पारेको बताए । उनका अनुसार दैनिक ज्याला मजदुरी गरेर जिविकोपार्जन गरेर दैनिकी गुजारा गर्नेहरु कोरोनाको सबै भन्दा बढि मारमा परेका छन् । यो बेला सरकारको त परको कुरा छिमेकीबाट समेत सहयोग माग्ने अवस्था छैन । मागेर खाँउ कोही दिदैन काम खोज्यो पाइदैन । हस्त मात्रै होइन उक्त बस्तीका दर्जन बढी सुकुम्बासी गन्धर्व समुदायका नागरिकहरुको अवस्था निकै दयनीय अवस्थामा गुज्रिरहेको छ ।

यस्तै कोहलपुर–११ को गन्धर्व बस्तीमा बस्दै आएका सुरेश गन्धर्व पुख्यौली पेसा सारंगी रेटेर जिविकोपार्जन गर्थे । तीन जनाको परिवार उनले सारंगी रेटेरै पाल्थे । उनको पनि हस्तको जस्तै हाल छ । ७ महिनायता उनी पनि घरबाट बाहिर निस्कन पाएनन् । अझै पनि सामान्य अवस्था नभइसकेकोले उनी बाहिर निस्कन पाएका छैनन् । उनी बाहिर जान नपाउनु भनेको उनको परिवारमा आम्दानी नहुनुको हो । जुन कोरोना कहरले छिनिीदियो । ‘एक त अहिले सारंगी रेटेर आम्दानी निकै कम हुन थालेको छ । अर्कातिर कोरोनाले ठप्पै बनायो । हामीलाई कोरोना भन्दा पनि साँझ विहान के खाने भन्ने टेनसन छ ।’ इमेल खबरसँग कुराकानी गर्दै उनले भने । गन्धर्व समुदायको प्रमुख आम्दानीको स्रोत सारंगी बढ्दो प्रविधिकरणको चपेटामा परेको छ । संरक्षणको अभावमा यसको महत्व समेत घट्दै गइरहेको छ । सारंगी पुस्तान्तरण समेत हुन सकेको छैन । पछिल्लो गन्धर्व युवाहरुको मुख्य गन्तव्य नै कि बैदेशिक रोजगार हो, की मजदुरी । तर सुरेश भने आफ्नो पुर्खाको चिनो बचाइ राख्नु पर्छ भन्ने मान्यताका साथ सारंगी बजाउँछन् । उनको दैनिक कर्ममा कोरोनाले बाधा पु¥याएको छ । उनले अब भने अवस्था सामान्य हुदैँ गएकोले बजारमा जाँदा कमाई हुने आशा व्यक्त गरे । कोरोनाले धेरे मानिसलाई स्वरोजगार बन्नु पर्ने र स्वाभावलम्बी बन्न सिकाएको उनको भनाई छ । उनी भन्छन, ‘हामीलाई त राज्यले पनि सौतेनी व्यवहार गरेको छ । स्थानीय सरकारले झन बेवास्ता गरिरहेको छ । संघीयता आयो भन्छन । कोरोनाले सरकारकोे चरित्र देखायो । हाम्रो पक्षमा न सरकार छ न कोही अरु । हामी सुकुम्बासीको जिन्दगी यस्तै रैछ ।’ कोरोना कहरको धेरै समय उनको परिवारले पेटभरी खान पाएन । स्थानीय सरकारले दिएको राहतले केही दिन चलेको थियो । फेरी गर या मरको अवस्थामा आइपुगेको उनले जानकारी दिए ।

वडा नम्बर ११ कै सुकुम्बासी बस्तीमा १५ वर्षयता बस्दै आएको टेकबहादुर पुनको अवस्था झन भयानक छ । उनी घर बनाउने मिस्त्री हुन् । तर उनी पनि काम विहीन भएको सात महिना भयो । उक्त बस्तीका अगुवा समेत रहेका उनले सुकुम्बासी बस्तीको अवस्था बाहिर सोचे भन्दा निकै फरक रहेको बताए । यहाँ कोही पनि दैखि खान पाउँदैन । छाक बिराएर दैनिकी गुजारा गर्नु पर्ने बाध्यता रहेको उनले बताए । आफू पनि घरमा खाने कुरा नभएको दिन धेरै दिन भोको बसेको उनले सुनाए ।‘यहाँको अवस्था नाजुक छ सर । स्थानीय सरकारले यहाँका नागरिक होलान् जस्तौ गर्दैन । कति पटक राहत माग्न जाँदा पनि दिएनन् । काम खोज्यो पाइदैन । कसरी जिउने होला भनेर चिन्ता लाग्छ ।’ मलिन स्वरमा उनले भने ।

बाँकेका कोहलपुर सहित अन्य पालिकामा समेत सयौ सुकुम्बासीहरु बसोबास गर्छन् । कोहलपुरमा सुकुम्बासीको संख्याहरुको अन्य पालिका भन्दा धेरै छ । गन्धर्व, बादी र चिडिमार समुदाय बस्छन् । उनीहरुको भूमिहीन र सुुकुम्बासीको रुपमा बस्दै आएका छन् ।