जुम्लामा अनिश्चितकालिन निषेधाज्ञा जारी

असार ११, जुम्ला – स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारीमा कोरोना भाइरस पोजेटिभ देखिएपछि समुदायमा फैलिन नदिन, आशङ्कित व्यक्ति खोजी कार्य तथा परीक्षणका लागि भन्दै जुम्ला सदरमुकाममा निषेधाज्ञा जारी गरिएको छ । जुम्लाका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाद्वारा जारी निषेधाज्ञ ०७७ असार १० गते दिउँसो ३ बजेदेखि अर्को निर्णय नभएसम्मका लागि जारी गरिएको हो ।

स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञा सङ्क्रामक रोग ऐन २०२० को २ (२) तथा स्थानीय प्रशासन ऐन, २०२८ दफा ६ (३) बमोजिम गरिएको छ । यसैगरी निषेधाज्ञा गरी सिल गरिएको क्षेत्र चन्दननाथ नगरपालिकाको पूर्वमा दान साँघु, पश्चिममा उमगाड, उत्तरमा कर्णाली प्राविधिक शिक्षालय र दक्षिणमा तिल्ला नदीसहितका चार किल्ला रहेका प्रमुख जिल्ला अधिकारी थापाले जानकारी दिएका छन् ।

यस्तै कोभिड नियन्त्रण समितिको बैठकको निर्णय अनुसार र जिल्ला सुरक्षा समितिको बैठकको निर्णय अनुसार असार १० गते ३ बजेदेखि निषेधाज्ञा जारी गरिएको प्रशासनले जनाएको छ । यसअघि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले आकस्मिक सेवाबाहेक सबै बन्दसमेत गरिसकेको छ भने प्रतिष्ठानका स्वास्थ्यकर्मीको सबैको स्वाब लिइएको जनाइएको छ । कर्णाली प्रतिष्ठानमा काम गरिरहेका चार जना र एक जना अन्य गरी पाँच जनामा कोरोना पोजेटिभ देखिएपछि उच्च सर्तकता अपनाइएको छ ।