स्मृतिमा जीवनसाथी बन्दना

माफ गर्नु जीवन साथी बन्दना मैले तिमीलाई बचाउन सकिन

असार ११, काठमाडौं– हुनत मृत्यु प्राकृतिक नियम हो । मान्छे एकपटक जन्मे पछि मर्नै पर्छ । अघि र पछिको मात्रै फरक हो । मृत्युको रुप र समय मात्रै फरक हो । यसरी हेर्दा मृत्यु अनिवार्य र स्वभाविक प्रक्रिया हो । तर जब कुनै मानिसको जीवनका असंख्य सपना पूरा हुन बाँकि छदै नाबालकलाई छाडेर अल्पायुमै मृत्यु हुन्छ, त्यो मृत्यु अलि अस्वभाविक हुदो रहेछ ।अलि अपत्यारिलो र असह्य हुदो रहेछ । अझ झन त्यो सपना व्यक्तिगत भन्दा पनि धेरैको सपनासगं जोडिएको हुन्छ, त्यसले झन ठूलोपिडा दिदोरहेछ । बन्दना तिम्रो मृत्युमा आज हामी घरपरिवार मात्र होइन सिङ्गो पार्टी पंक्ति, साथी सङ्गीत परिवर्तनका पक्षधर नेपाली जनता शोकमा छन् । हामीलाई कहिल्यै निको नहुने चोट लागेको छ अनि भएको छ अपुरणीय क्षति ।

२०७७ जेठ १२ गते सोमबार साँझ ४.२० बजे दिल्लीबाट फोनमा अकस्मात बन्दना अचेत भएको खबर आयो । यसभन्दा अघि पनि ऊनी २ पटक लामो समयसम्म अचेत भएकी थिइन् ।

कहिलेकांही हल्काचक्कर आउने त भैरहन्थ्यो । नयाँ दिल्लीको अपोलो हस्पिटलमा चेक गराउदा मुटुको चालमा अनियमितताको समस्या देखिएको थियो । यो समस्या समाधानका लागी मुटुमा तत्काल पेसमेकर राख्नु पर्ने डाक्टरको सुझाव थियो । तर यसको लागी केहि तयारी गर्नु पर्ने र शारीरिक कमजोरी भएकाले अलि तन्दुरुस्त भएपछि सामान्य अपरेसन गरेर पेसमेकर राख्ने सल्लाह गरिएको थियो । त्यो दिन पनि सामान्य अचेत भएको होला भन्ने नै सोचियो ।

केही समयको होशमा ल्याउने केहि घरेलु उपाय काम लागेपछि दिल्लीको सफदरजंग हस्पिटल लगियो जहाँ चेकअप पछि डाक्टरहरुले उनलाई मृत घोषणा गरे । यो खबर संगै हामी बीच कायम २०५९ सालदेखिको दाम्पत्य सम्बन्ध भौतिक रूपमा समाप्त भयो यद्यपि वैचारिक र भावनात्मक सम्बन्धको सम्झना भने जीवनभरी मेरो मानसपटलमा रहिरहने छ ।

त्यो रात म सुत्नै सकिन । सिङ्गो पार्टी पंक्ति, मित्रहरू र घरपरिवार सबैलाई खबर गर्दै र कुरा गर्दै बिते मेरा पुरैरात । हामीले संगै बिताएका पलहरु र भविष्यमा पूरा गर्न बाकी कामहरू आँधी सरह मनमा खेलिरहेर आइरहे । हत्तपत्त नरुने मेरो मन चित्कार छोडेर रोयो, आाँखा रसाए अनि मैले आफुलाइ एक्लो भएको महसुस गरें । जति कोशिश गरे पनि आफुलाइ सम्हाल्नै गाह्रो भयो । पिडा र भावनाका छालहरु ज्वारभाटा सरी आइरहे ।

बन्दना बाथ रोगबाट थलिएको करीब ३ वर्ष भएको थियो । नेपालका राम्रा भनिएका थुप्रै सरकारी र निजी बाथ विशेष हस्पिटलहरुमा उपचार गराइ सकिएको थियो । आयुर्वेद र प्राकृतिक उपचार पनि बाँकी राखिएन । औषधीको बलमा सामान्य नियन्त्रण बाहेक निको हुने कुनै छाँट थिएन । अन्त्यमा २०७६ पुस २० गते थप उपचारका लागि दिल्ली लगियो ।

नयाँ दिल्लीको अपोलो हस्पिटलमा भर्ना गरी चेक गराउदा उनलाई रिमोटाइड (अर्थराइटि बाथ), मुटुको चालमा अनियमितता र सुकाउने थाइराइडको समस्या देखियो । बाथको समस्या नेपालमा पनि देखिएको थियो । बाथको समस्या पहिले देखिने रहेछ । तीनवर्ष अघि थला परेपछि मात्र हामीलाई यसको बारेमा जानकारी भयो । सयभन्दा बढी प्रकारका बाथ मध्य यो बढी खतरनाक हुदो रहेछ ।

हाम्रो शरीरमा रहेको रोग प्रतिरोधात्मक क्षमताले रोग संग लडनुपर्नेमा यो रोग लागेमा रोग प्रतिरोधात्मक क्षमताले आफ्नै शरीरको सकारात्मक सेल र अंगलाई आक्रमण गर्दो रहेछ । यसको उपचार भनेको शरीरको रोगप्रतिरोधात्मक क्षमतालाई औषधीको माध्यमबाट बढन नदिइ त्यसलाई दबाएर राख्नुपर्ने रहेछ । रोग प्रतिरोधात्मक क्षमता बढने बित्तिकै आफ्नै शरीरका अङ्गलाई आक्रमण गर्ने आत्मघाती रोग रहेछ यो ।

रोग लागेको शुरुमै पत्ता लागेमा शरीर अंगभंग हुनबाट बचाउन सकिने र रोग नियन्त्रण गर्न रहेछ तर पुरै निको पार्न नसकिने रहेछ । मुटुको समस्या माझ पेसमेकर राख्नुपर्ने भनिएको थियो भने बाथ र थाइराइडमा नियमित औषधी खानु पर्ने भनिएको थियो । केही समय प्रत्येक महिना चेक गराएर औषधीको मात्रा मिलाउनु पर्ने भएकाले दिल्लीमा डेरा लिएर रेखदेख गरिएको थियो ।

कोभिड –१९ महामारीका कारण बिश्वब्यापी लकडाउन भयो र नियमित चेकअपमा समस्या भयो । त्यहि समयमा नेपाल आउने सल्लाह हुदै थियो । त्यहि दिन १२ बजे पनि हामी बिचमा फोनमा कुराकानी भएको थियो । उनले भनेकी थिइन यहां धेरै गर्मी छ, नेपालको सिमाना खुल्ला गरिएको सुनिन्छ, सिफारिस मिलाएर छिटो फर्किने ब्यवस्था मिलाउनु ।’

मैले उनलाई फर्काउने आश्वासन दिए । तर त्यहि साझ उनि कहिल्यै नफर्किने गरि यो संसारबाट बिदा भइन् । उनको भौतिक शरीर मबाट टाढा भयो केबल बांकी रहे उनका अधुरा सपना र सम्झनाहरु ।

म नेपालमा जन्मिएर भारतमा हुर्केको । बन्दना महान जनयुद्धमाको तत्कालीन आधार जिल्ला जाजरकोटमा हुर्केकी । जनयुद्धको यात्रामा मै हो हाम्रो भेट भएको र नजिक भएको । महान जनयुद्धमा हाम फालेकी बन्दना र मेरो विवाह आफैमा एउटा साँस्कृतिक क्रान्ति थियो । पुरातन समाजका अनुसार हामी दुई कथित ठूलो र सानो जातिका थियौं ।

जनयुद्ध पुर्व राजीखुशी घरपरिवारको सहमतिमा अन्तरजातीय विवाह हुने र गर्ने कुरा विरलै थियो । जनयुद्ध कै कारण यो व्यापक रुपमा सम्भव भएको हो । पार्टीको सहयोग र हाम्रो रोजाइमा हाम्रो विवाह भएका थियो । बन्दनाका माइती पक्षका सबै आफन्तले यो सम्बन्धलाई सहर्ष स्वीकार गर्नु भयो । त्यसबेला हामीजस्ता सयौं अन्तरजातीय विवाह भएका थिए । जसमध्ये थुप्रै शान्ति प्रक्रियामा आएपछि समस्या देखा परेको र कतिपयको सम्बन्ध विच्छेद समेत भएको सुनियो । तर, हाम्रो बीचमा त्यस्तो कुनै अन्तरविरोध देखिएन ।

दुबै पक्षका घरपरिवारको पूर्ण सहयोग थियो । संयोग नै मान्नुपर्छ कि जतिबेला अन्तरजातीय विवाहका एक अनुपम उदाहरणकी पात्रको मृत्यु भयो त्यहि नै सेरोफेरोमा जाजरकोट रुकुममा अन्तरजातीय प्रेम र विवाहकै सन्दर्भमा ६जनाको नरसंहारकारी हत्याकाण्ड घट्यो । यस घटनाले समाज परिवर्तनको महानयात्रा अझ पूरा नभएको मात्र होइन यसमा ठूलो प्रतिक्रान्ती नैभएको संकेत गरेको छ ।

हामीले आफ्नै जीवनलाई क्रान्तिमा पुरै होमिदिएका थियौ। सामान्य जीवनयापन बाहेक हाम्रो कुनै अर्को व्यक्तिगत इच्छा आकंक्षा थिएन । शान्ति प्रक्रिया संगै पार्टी र क्रान्तिमा देखा परेको र दुईलाई न संघर्षको क्रममा पनि हामीले सुझबुझपुर्ण छलफल गरेर नै गलत विचारका बिरुद्ध क्रान्तिकारी विचारको पक्ष लिने निर्णय गरेका थियौं ।

बदलिएको परिस्थितिमा पारिवारिक व्यवस्थापन हाम्रा अगाडि चुनौतीको रुपमा खडा भयो । यसलाई त हामीले सामना गरिरहेकै थियौं त्यही बीचमा थपियो स्वास्थ्य समस्या । आधा समय रोग पत्ता नलागेर खेर गयो र जब रोग पत्ता लाग्यो तब धेरै ढिला भैसकेको थियो । जसले युद्धमा नढलेको क्रान्तिकारी शरीरलाई ढालिदियो ।

२०३६ साल पुस १७ गते जाजरकोट नलगाड नगरपालिका ५ तत्कालीन लहं गाविसको ऐरारी गाउँमा जन्मेकी बन्दनाको क्रान्तिकारी राजनीतिक जीवन यात्रा महाजनयुद्धको शुरुवाती चरण देखि नै भएको थियो । विस. २०५२ सालमा विद्यार्थी जीवन देखि नै अखिल क्रान्तिकारीको सदस्यको हैसियतले शुरु भएको उनको राजनीतिक सङगठनात्मक जीवन व्यापक रहेको छ ।

विद्यार्थीको जिल्ला नेतृत्व पछि महिला संघ क्रान्तिकारीको केन्द्रीय सचिवालय सदस्य, महिला प्लाटुनक मिशार, २०७१ तिर जाजरकोट जिल्ला पार्टी सचीव हुँदै २०७३ तिर अखिल नेपाल किसान महासंघ(क्रान्तिकारीको केन्द्रीय अध्यक्ष हुँदै २०७३ को ८ औं महाधिवेशनबाट नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्य निर्वाचित भइन् । गीत सङ्गीत, नृत्य र कविता लेखनमा उनको अत्यन्तै रुचि थियो । गृहसज्जा, पाककला र कपडा सिलाउनमा पनि बन्दनाको रुचि थियो ।

२०५४ कार्तिक १७ गते देखी करिब ६ महिना हिरासतमा चरम यातना भोगेकी उनि हाल स्वास्थ्य समस्याका कारण उपचार बिदामा थिइन । बिद्रोही स्वभावकी ऊनी जहिले पनि सही विचार र क्रान्तिको पक्षमा उभिइन् । शहीद बुवा जयबहादुर सिंह र आमा मनकुमारी सिंहकी पाँच छोरीहरू मध्ये काहिंली, परिवारमा सबैको प्यारो र अभिभावक नै थिइन उनि ।

ससुराली तर्फ पनि उनि सबैको आँखाको नानी भैसकेकी थिइन । उनमा रहेको परिवार प्रतिको स्नेह र जिम्मेवारी बोधले नै उनलाई यो स्थान प्रदान गरेको हो । क्रान्ति र वर्ग संघर्षका साथै घरपरिवारलाई पनि मिलाएर अघि बढ्नुपर्छ भन्ने संधै जोड रहन्थ्यो उनको ।
हामी दुईमा कहिलेकाहीं विचारमा अधुरो हुँदा छलफलको माध्यमबाट एक अर्कालाई पूर्णता दिने गर्थ्यौ । संधै भविस्यको बारेमा सृजनशील भएर सोच्ने र कृयाशील भैरहने अत्यन्तै अग्रगामी सोच थियो उनको ।

८ कक्षा पढ्दै गर्दा जनयुद्धमा होमिएकी उनले शान्ति प्रक्रियामा एसएलसी पास गरिन र १२ कक्षाको परिक्षा दिदै थिइन् । परिवारको बारेमा पनि हाम्रो बीचमा स्पष्ट समझदारी थियो ।एउटा मात्र बच्चा जन्माउने हामी बीच आपसी सल्लाह अनुसार नै एउटा छोरा आजाद को जन्म भयो र त्यस बच्चालाई व्यवस्थापन गरेर हामी दुबै जना पार्टी रक्रान्तिमा निरन्तर पूर्णकालीन भएर लाग्नु पर्छ भन्ने नै हाम्रो समझदारी थियो। हाम्रो बीचमा कुनै मतभेद वा असमझदारी भएमा आआफ्नो डायरीमा नोट गरेर राख्ने अनि उपयुक्त समय मिलाएर छलफल गरि त्यसको टुंगो लगाउने हामीले एउटा नियम बनाएका थियौं ।

समय समयमा एक अर्काको कमी कमीकमजोरी नोट गरेर एकअर्कालाई भनीदिने पनि हाम्रो बीचमा सहमति थियो ।समग्रमा भन्नु पर्दा हामीले पति पत्नी बीचकोसम्बन्धलाई एउटा सङ्गठनको इकाईको रुपमा नै अगाडि बढाउने कोशिस गरेका थियौं ।आँखा चिम्लेर कुनै पनि विषय स्वीकार गरि हाल्ने बानी थिएन उनको । खरोबहस पश्चात् कन्भिन्स भएपछि मात्रै कुनैपनि विषय स्वीकार गर्ने बानी थियो । तर सहमत भैसकेपछी जिम्मेवारीमा ज्यान फालेर होमिनेउनको अत्यन्तै  राम्रो बानी थियो । बाहिरी रुपमा खरो र कडामिजासको देखिएतापनी भित्री रुपमा अत्यन्तै नरम तथा मिलनसार थिइन उनि ।

उत्पादनका निम्ति संघर्ष, वर्गसंघर्ष र वैज्ञानिक प्रयोगले नै मानवजातिलाई आजको विकसित अवस्थामा ल्याइ पुरयाएको हो। संसार आज अकल्पनीय प्रगति र विकासको बाटोमा लम्किरहेको छ। यही नै वास्तवमा समग्र ज्ञानको सोत्र पनि हो । तर बिश्वमा अझै पनि यस्ता विषयहरु छन् जहाँ मानिसका असंख्य उपायहरू नाकाम सिद्ध भैरहेका छन् ।

कोरोनाभाइर यसको महामारीले मानवजातिको वास्तविक हैसियत उदाङ्गो पारिदिएको छ। बिश्व शक्तिको रुपमा परिचित साम्राज्यवादी अमेरिकालेसमेत कोभिड(१९रोगका अगाडि हारखानु परेकोछ । यद्यपि अहिले सम्मको स्वास्थ्यविज्ञानको इतिहासले के प्रमाणितगरेको छ भने मान्छेले सरुवा रोगलाइ नियन्त्रण गर्न सफलभएकोछ यद्यपि यसकोलागी केही समय लाग्ला ।

बरु मान्छेकालागी अहिले चुनौतीको रुपमा नसर्ने रोग अर्थात दिर्घरोग देखा परेकोछ। दिर्घरोग बाहिरी कारणले लाग्ने भन्दा पनि (प्राकृतिक अवस्था, आहार विहार रवंशानुगतआदि)शरीर भित्रैबाट उत्पन्न हुने भएकाले यसको पुरै निराकरण चिकित्सा विज्ञानकालागी ठूलो चुनौती बनेकोछ । एलोपेथिकउपचार पद्धतिलेमात्रै यसको समाधान दिन सक्दैन। वैकल्पिक उपचार पद्धति तिर पनि ध्यान दिनुपर्छ भन्ने अहिले स्वास्थ्य वैज्ञानिकहरुको सुझाव रहेकोछ । स्वास्थ्य क्षेत्रमा रहेको नीजिकरण, व्यापारीकरण र उपचारात्मक पद्धतिले गर्दा पनि बन्दनाले जस्तै बिश्वमा लाखौं मानिसले अल्पायुमै ज्यान गुमाउनु परिरहेको छ ।

यसको समाधानकालागी स्वास्थ्य क्षेत्रमा रहेको नीजिकरण र व्यापारीकरणकोअन्त्य गरि स्वास्थ्य क्षेत्रको जिम्मा राज्यले लिनुपर्छ ।साथै अहिले कायम उपचारात्मकपद्धतिको स्थानमा रोकथामको विधिलाई पनि अपनाउनु पर्दछ । तर, यसका लागी दलालपुँजीवादी तथा साम्राज्यवादी नीति घोर बाधक रहेकोछ । विद्यमान नवउदारवादी आर्थिक व्यवस्थामा यो संभव छैन । साम्राज्यवादको यही गलत नीतिकाकारण अमेरिकामा कोरोनाकाकारण हजारौं जनताले ज्यानगुमाउनु परेकोछ ।

नेपाल पनि योसमस्या बाट अछुतो छैन । स्वास्थ्य क्षेत्रमा रहेको यावत समस्याको दीर्घकालीन समाधान विद्यमान दलाल पुँजीवादी संसदीय व्यवस्थाबाट संभव छैन । यसको लागी यो व्यवस्थाको अन्त्य र वैज्ञानिक समाजवादको स्थापना अपरिहार्य छ। नेपाली समाजमा व्याप्त यही विकृति र विसंगतिको अन्त्य गर्ने महानयात्रामा लामबद्ध एक विराङ्गनाक. बन्दना आफै यसको शिकार बन्नु परयो।

एलोपेथिक उपचारकासाथसाथै उपचारका अन्य वैकल्पिक उपाय बारे तयारी भैरहेकै बेला उनिमाथी कोरोनाको लकडाउनले नकारात्मक भूमिका खेल्यो। लकडाउन खुकुलो हुने पर्खाइमा ढिलाभैउपचार अभावमा उनको ज्यान गयो। संभवत मनोबैज्ञानिक तनावले पनि प्रभावपारेको हुनुपर्छ। हामीले तिमीलाई बचाउन त सकेनौं बन्दना तर तिमी जस्तैदिर्घरोघबाट पीडित लाखौंको ज्यान बचाउन योग्य स्वास्थ्य प्रणाली र राज्यव्यवस्था निर्माण गर्न भने हामी पछि पर्ने छैनौं ।

दिर्घरोग संगको यो लडाई माहामीलाई सिङ्गो पार्टी पंक्ति, साथीसँगि, शुभचिन्तक र विशेषगरी दुबै तर्फका घरपरिवारको ठूलोहौसला रसहयोग रह्यो ।भविस्यमाथप उपचारका निम्ति पनि त्यही किसिमको साथ र सहयोगको वातावरण मिलिरहेको थियो। तर हामीलाई समयले साथ दिएन। परिस्थितिको यही जटिलताले हामीलाई यो परिणति बेहोर्न विवश बनायो ।

प्रकृतिको नियमनै हो हामीले जस्तोसुकै बज्रपात पनि सहनु पर्दो रहेछ। प्रत्येक दिन यो संसारमा लाखौं मानिस मर्छन अनि अन्य लाखौं नयाँ शिशुले जन्म लिन्छन। सबैका जीवन उत्तिकै प्रिय हुने गर्छन् ।र आफ्नो प्रियजनको मृत्यु पनि त्यत्तिकै असह्य र पिडादायी। जतिसुकै दुखद र असह्य भएतापनी यसलाई सहनु र पचाउनुबाहेक हामी सङ्ग अर्को विकल्प हुदो रहेनछ। भविस्यको आशा र बाँचेकाहरुको आपसी सम्बन्ध र जिम्मेवारीबोधले नै हामीलाई पिडा सहेर बाँच्न प्रेरणा र साहस दिदो रहेछ। शायद द्वन्द्वात्मक भौतिकवादको नकारकोसकारसम्बन्धि नियमको वास्तविक अर्थ पनि यहीहो।

यसो नहुदो होत यो संसार उहिल्यै समाप्त भैसक्थ्यो। संसारभरी लकडाउन रहेको संकटको यस घडिमा पनि हामी सबै बिशेषगरी आमाको चाहनामा पार्थिव शरीरलाई नेपालमा ल्याएर घरपरिवारकोउपस्थितिमा पार्टीको झण्डा ओढाई अन्तिम श्रद्धाञ्जली दिएर दाहसंस्कार गर्न सफल भयौं। पुरानो मृत्यु परम्परा र संस्कारलाई तोडेर प्रगतिशील तरिकाले उनको अन्तिम श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरियो ।जाजरकोटगाउँ र दैलेख गाउँको विद्यालयमा गरिब तथा अशक्त बालबालिकाकालागी ५०÷५०हजारको छात्रवृत्ति अक्षयकोष स्थापना गर्ने र दुबैजिल्लाको गाउँमा वर र पिपल रोपि स्मृति चौतारी निर्माण गर्ने निधो भएकोछ।

दुखको यस घडीमा हामीलाई सम्झिनुहुने र सहयोग गर्नुहुने सम्पूर्ण पार्टी नेतृत्वपंक्ति,मित्रहरू, शुभचिन्तक एवं नातागोतामा हार्दिक धन्यवाद सहित आभार व्यक्त नगरी रहन सक्दिन ।पिडाको यस क्षणमा मलाई दुई वटा जिम्मेवारी बोधले घचेटिरहेकोछ। परिवार र समाज प्रतिको दुईवटा उत्तरदायित्व अब म आफैंले निर्वाह गर्नु पर्नेछ । हामी दुबै को सपना पूरा गर्नु पर्नेछ । सुन्दर, समतामूलक र न्यायपूर्ण समाज निर्माणको हाम्रो यात्रा कत्ति पनि रोकिने छैन। तिमी हाम्रो याद र सम्झनामा सदासर्बदा रहिरहने छौ। र युगौयुग सम्म चम्किरहने छौ जनताको नयाँ संसार निर्माणको अविराम मार्गमा ।

असिम माया र सम्झनासहित अल्बिदा प्रिय जीवन सङ्गिनी सबिता ! लालसलाम !!

लेखक- रामलाल बिश्वकर्मा