दैलेखमा पीसीआर मेसिनको उद्घाटन

असार ११, काठमाडौं – कोरोना सङ्क्रमणको दर तीव्र बन्दै गएपछि दैलेखमै पीसीआर मेसिन जडान गरेर औपचारिकरूपमा पीसीआर जाँच गर्ने काम सुरु गरिएको छ । काठमाडौंबाट आएको स्वास्थ्यकर्मीको टोलीले पीसीआर मेसिन जडान गरेपछि स्वास्थ्य राज्यमन्त्री नवराज रावतले त्यसको उद्घाटन गरे ।

दैलेखको पशु अस्पताल तथा पशुसेवा कार्यालय परिसरमा मेसिन राख्नका लागि नयाँ भवन निर्माण गरिएको छ। प्रयोगशाला भवन र पीसीआर मेसिनको एकै पटक उद्घाटन गरिएको हो । सो अवसरमा राज्यमन्त्री रावतले कर्णालीका ३ वटै यन्त्र सञ्चालनमा सरकारले सहयोग गर्ने बताउँदै स्वास्थ्यकर्मीलाई उच्च मनोबलका साथ काम गर्न सुझाव दिए ।

राज्यमन्त्री रावतले पीसीआर जाँचका लागि आवश्यक पर्ने जनशक्तिका लागि तत्काल टेकु अस्पतालमा तालिम प्रदान भइरहेकाले दैलेखबाट पनि तालिममा पठाउन आग्रह गरे ।

सङ्घीय सांसद रवीन्द्र राज शर्माले आफ्नो निर्वाचन क्षेत्र विकासको १ करोड ६ लाख रुपैयाँबाट यन्त्र खरीद गरिएको नेपालको पहिलो उदाहरण भएको जिकिर गर्दै यन्त्रको प्रभावकारी सञ्चालनका लागि दैलेखका सबै स्थानीय तह, केन्द्र र प्रदेश सरकारको भूमिका महत्वपूर्ण हुनुपर्ने बताए ।