लकडाउन -चन्द्रागिरि चेम्बरद्वारा खाद्यान्न वितरण

चैत्र २१, काठमाडौ – कोरोना भाइरस कोभिड— १९ को सम्भावित जोखिम हुन नदिन लकडाउन भएपछि चन्द्रागिरि नगरपालिकामा रहेका ३४ परिवारका १४५ जनालाई खाद्यान्न वितरण गरिएको छ । चन्द्रागिरि चेम्बर अफ कमर्शले नगरभित्र दैनिक ज्यालादारी गरेर जीवनयापन गर्दै आएकालाई राहत स्वरुप खाद्यान्न वितरण गरेको अध्यक्ष रामनारायण घिमिरेले जानकारी दिए ।

उनले सस्थाले लकडाउनको समयमा भोकै जीवन बिताउने अवस्था नआवोस् भन्नाका लागि विपन्न परिवारलाई खाद्यन्न वितरण गरेको बताए । सो सस्थाले प्रतिपरिवार १० किलो चामल, एक किलोग्राम दाल, एक किलोग्राम नुन, एक लिटर तेल, एक किलोग्राम दालमोठ, एक किलोग्राम चिनी, ४०० ग्राम मस्यौरा, एउटा साबुन, दुई किलोग्राम चिउरा सानो एक÷एक प्याकेट मसला र खुर्सानी वितरण गरेको हो । नगरपालिकाभित्र पाँच हजार ७०० थान माक्ससमेत वितरण गरिसकेको छ ।

लकडाउनले खाना नपाएका व्यक्तिलाई राहत उपलब्ध गराउन राहत मापदण्ड तयार गरेको छ । नगरपालिकाले तयार गरेको मापदण्डमा तीन जनाको परिवारसम्मलाई १० किलोग्राम मन्सुली चामल, एक किलोग्राम मुसुरो दाल, एक किलोग्राम नुन, दुई किलोग्राम च्यूरा, एक किलोग्राम चिनी र दुई वटा साबुन रहेको छ ।

राहत लिनका लागि व्यक्तिले आफ्नो नाम, आफ्नो परिवारको संख्या, आफुले गर्दै आएको काम, घरवेटीको नाम र घरबेटीको नम्बर अनिवार्य रुपमा उल्लेख गर्नुपर्ने हुन्छ । यस्तै चार वा चारभन्दा बढी परिवार भएका व्यक्तिलाई १५ किलोग्राम मन्सुली चामल, एक किलोग्राम मुसुरो दाल, एक किलोग्राम नुन, दुई किलोग्राम च्यूरा, एक किलोग्राम चिनी र दुई पिस साबुन वितरण गरिने नगरपालिकाले जनाएको छ । कोरोना राहात