‘डेरावाल सरकारी कर्मचारीले राहत पाउँदैन’

चैत २१, काठमाडौं – महानगरपालिकाले सङ्घीय सरकारको नीति अनुरुप लकडाउन अवधिभर असङ्गठित क्षेत्रका ज्यालादारी मजदूरहरुलाई राहत वितरणमा पहिलो प्राथमिकता राखेको छ ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को सम्भावित सङ्क्रमण रोक्न महानगरपालिकाबाट चालिएका कदमहरुबारे आज सञ्चारकर्मीहरुलाई जानकारी दिँदै महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले भने– “डेरामा बस्नेहरुलाई मात्र राहत बाँड्ने भन्ने होइन । काठमाडौँमा घर भएरै पनि खाद्यवस्तु किनेर खान सामथ्र्य नराख्ने घर परिवारलाई समेत राहत बाँड्ने हो ।”

सरकारी सेवामा रहेका डेरावालहरुले यस्तो राहत नपाउने प्रमुख शाक्यले स्पष्ट पारेका छन् ।  राहत वितरणलाई अघि बढाउन महानगरपालिकाले जनसङ्ख्याको आकारका आधारमा आठ लाख, छ लाख र चार लाख रुपैयाँका दरले वडाहरुलाई सहयोग रकम निकासा गरिसकेको जानकारी पनि उनले बताए ।