गण्डकी समाचारः फेदीखोला क्वारेन्टाइनका नौ घर फिर्ता

चैत्र २१, काठमाडौ- स्याङ्जाको फेदीखोला गाउँपालिकाले क्वारेन्टाइनमा बसेका नौ जनालाई घर पठाएको छ । विदेशबाट आएका तीन युवा र उनीहरुका परिवारलाई गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा राखिएको थियो । क्वारेन्टाइनमा राखिएका उनीहरुको स्वाब परीक्षणमा रिपोर्ट नेगेटिभ देखिएको र विदेशबाट आएको १४ दिन पूरा भएकाले बिहीबार घर पठाइएको गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले राससलाई बताए ।

क्वारेन्टाइनमा बसेर विषम परिस्थतिमा सामाजिक उत्तरदायित्व पूरा गरेवापत उनीहरुलाई रु एक हजारको दरले प्रोत्साहन रकम पनि दिइएको गाउँपालिकाले जनाएको छ ।

कतार एयरवेजमा संक्रमित युवतीसँगै आएका दुई युवा र एक महिलाको स्वाब परीक्षण गर्दा रिपोर्ट नेगेटिभ देखिएको गाउँपालिका, स्वास्थ्य शाखाले जनाएको छ ।

तिवारीबाट कोषमा रु एक लाख
नेपाल सरकारले स्थापना गरेको कोरोना राहत कोषमा जम्मा गर्ने गरी वालिङ नगरपालिका ६ का समाजसेवी नित्यानन्द तिवारीले रु एक लाखको चेक जिल्ला प्रशासन कार्यालयमै पुगेर प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङलाई हस्तान्तरण गरेका छन।

यसैगरी तुल्सीभञ्ज्याङ साना किसान कृषि सहकारी संस्थाले गल्याङ नगरपालिकाले स्थापना गरेको विपद् तथा राहत कोषमा रु एक लाख ११ हजार १ सय ११ सहयोग गरेको छ ।

क्वारेन्टाइनमा रहेका ५६ घर फिर्ता
लमजुङ –गण्डकी प्रदेशअन्तर्गत लमजुङमा रहेका स्थानीय तहले क्वारेन्टाइन निर्माण गरी विदेशबाट आएका कोरोना संक्रमित हुन सक्ने संम्भावित व्यक्तिलाई राखेकामा ५६ जना घर फर्केका छन् ।
जिल्लाका आठ स्थानीय तहमध्ये चार वटाले निर्माण गरेका विभिन्न क्वारेन्टाइनमा बसेर उनीहरु घर फर्केको प्रमुख जिल्ला अधिकारी लक्ष्मणबहादुर खड्काले बताए ।

प्रहरी कार्यालयका थुनुवा रिहा
दमौली– जिल्ला प्रहरी कार्यालय तनहुँले कोभिड–१९ को सङ्क्रमणलाई ध्यानमा राखे पाँच थुनुवालाई रिहा गरेको छ । कोरोना भाइरसको जोखिम कम गर्ने उद्देश्यले सामान्य प्रकृतिका अपराधमा पक्राउ परेका थुनुवा रिहाइ गर्ने सरकारको नीतिबमोजिम जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका तिनलाई रिहा गरिएको प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिए ।

कारागारका एक रिहा

कारागारमा रहेका एक बन्दीलाई पनि लमजुङ जिल्ला अदालतको आदेशमा रिहा गरिएको छ । एक सय ३३ दिन कैद भुक्तान गर्न बाँकी व्यास नगरपालिका–११ का रामबहादुर बयलकोटीलाई रिहा गरिएको कारागारका निमित्त प्रमुख नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

यस्तै जिल्ला कारागारमा रहेका बन्दी रिहा गर्नका लागि जिल्ला अदालतमा निवेदन दर्ता गरिएको छ । कोभिड–१९ लाई ध्यानमा राखी एक वर्ष वा एक वर्षभन्दा कम सजाय तोकिएका कैदीबन्दी रिहा गर्ने सर्वोच्च अदालतको निर्णयपछि कारागारले चार बन्दी रिहा गर्नका लागि अदालतमा निवेदन दर्ता गरेको हो ।

पच्चीस जना क्षमताको कारागारमा हाल १४९ कैदीबन्दी छन् । क्षमताभन्दा बढी कैदीबन्दी हुँदा उनीहरुलाई समस्या पर्ने गरेको छ । विशेषगरी गर्मी मौसममा कैदीबन्दीलाई सकस हुने गरेको कारागारका नाइके विष्णुहरि घिमिरेले जानकारी दिए । साथै शौचालय जान पनि कैदीबन्दीलाई पालो पर्खनुपर्ने बाध्यता छ ।