फोर्ब्स सूचीमा ६ नेपाली युवा

चैत २०, काठमाडौ – विश्वप्रसिद्ध फोब्र्स म्यागेजिनले सार्वजनिक गरेको सूचीमा ६ जना नेपाली परेका छन् । फोब्र्सले सन् २०२० को विभिन्न विधाबाट छनोट गरी बनाएको एसियाका ‘३० अन्डर ३०’ उदीयमान युवाको सूचीमा नेपालमा ६ जना युवाले स्थान बनाएका हुन् ।

सन् २०२० को उक्त सूचीमा सोसल इन्टरप्रेनरसिप विधामा ‘प्याड २ गो’का फाउण्डर सुभाङ्गी राणा र जेसिलिना राणा परेका छन् । यही क्याटागोरीमा ‘फुड मारियो’का को–फाउण्डर रोहित तिवारी पनि परेका छन् । यस्तै, रिटेल तथा इकमर्सतर्फ ‘अर्बान गर्ल’की संस्थापकद्वय निकिता आचार्य र किरण तिम्सिनाले स्थान बनाएका छन् । खेलकुद तथा मनोरन्जनमा भने गल्फर प्रतिमा शेर्पा परेकी छन् ।

फोर्ब्सले ‘३० अन्डर ३०’ लागि इन्टरप्राइज टेक्नोलोजी, फाइनान्स एण्ड भेन्चर क्यापिटल, इन्डस्ट्री, म्यानुफ्याक्चर र इनर्जी, मिडिया, मार्केटिङ र एड्भर्टाइजिङ, सेलिब्रिटी, योङ्गेष्ट, बिग मनी, रिटेल र इ–कमर्स, कन्जुमर टेक्नोलोजी, इन्टरटेन्मेन्ट र स्पोट्र्स, हेल्थकेयर र साइन्स, सोसल इन्टरपेनर्सजस्ता विधामा उल्लेखनीय कार्य गर्ने युवाहरूलाई छनोट गरी सूचीकृत गर्ने गरेको छ ।

प्रतिमा शेर्पा, २०, खेलाडी (गल्फर)

नेपाल गल्फ कोर्सको मर्मत सेड, थर्ड होलको पछाडि प्रतिमा शेर्पा हुर्किएकी हुन् । उनको पहिलो गल्फ खेल्ने सपना उनी ११ वर्षको हुँदा उनका बुवाले रुखको हाँगा भाँचेर बनाएको लट्ठीवाट भएको थियो ।

अहिले उनी पहिलो श्रेणीकी अमेच्योर महिला गल्फर हुन् । उनका अभिभावक अझै त्यही मर्मत सेडमा रहन्छन् । उनी चाहिँ कलेजको दोस्रो वर्षमा स्यान्टा बारबरा सिटी कलेजमा पढ्छिन् । उनको सपनाचाहिँ नेपालको पहिलो महिला प्रो गल्फर हुने र नेपालबाट अन्तर्राष्ट्रियस्तरमा प्रतिनिधित्व गर्ने छ ।

जेसिलिना राणा, २४, सुभाङ्गी राणा २३, सह–संस्थापक प्याड टु गो

सुभाङ्गी राणा (इन्जिनियर) र जेसोलिना राणा (मानअधिकारकर्मी, वकिल) मिलेर सन् २०१८ मा ‘प्याड टु गो’ नामक सामाजिक उद्यमशीलता नेपालमा सुरु गरेका थिए । यसले महिनावारी स्वास्थ्य र यससँग सम्बन्धित सामाजिक अन्धविश्वास र सोचलाई बदल्ने  काममा आफूलाई केन्द्रित गरेको छ । यसमार्फत नेपालका ४ वटा प्रदेशमा ८० मेसिन राखिएका छन्, जसले महिलालाई महिनावारीका बेला आवश्यक पर्ने स्यानिटरी नेपकिन उत्पादन र वितरण गर्छ । यस्ता मेसिन स्कुल, अस्पताल, सिनेमाघर, बैंक र अफिसमा राखिएका छन् । यो एउटा मेसिनले २ सय जना महिलालाई नेपकिन दिन सक्छ । महिनावारी सम्बन्धी अन्धविश्वास र धारणा बदल्नलाई विभिन्न सामाजिक कार्यका साथै त्यहाँ उत्पादकसँग काम गरेर सस्तोमा यस्ता नेपकिन ल्याउने काम पनि योसंस्थाले गर्दै आएको छ ।

रोहित तिवारी, २८, सह–संस्थापक, फुड मारियो

फुड मारियो नेपालको त्यस्तो डिजिटल माध्यम हो, जसमा सेवाग्राहीले घरमै बस्ने सेफसँग घरमै पकाएको खाना आफ्नो घरसम्म मगाउन सक्छन् । रोहित तिवारीले बनाएको यो माध्यमले घरमा काम गर्ने महिलादेखि विद्यार्थीसम्मलाई रोजगारी दिन मद्दत गरेको छ । उनीहरू आफ्नै घरको किचनमा पकाएर खाना बेच्न सक्छन् । अहिलेसम्म फुड मारियोले १० हजारभन्दा बढी खानाका प्रकार सेवाग्राहीलाई पु¥याइसकेको छ । यसले सय भन्दा बढी घरबाटै काम गर्ने र खाना पकाउनेलाई रोजगारी दिएको छ ।

निकिता आचार्य, २६, र किरण तिम्सिना, २८ ः सह–संस्थापक, अर्बान गर्ल 

२ सय डलरको सामान्य लगानीबाट निकिता आचार्य र किरण तिम्सिनाले सन् २०१२ मा ‘अर्बान गर्ल’ नामक इ–कमर्स नेपालमा सुरु गरे । यो साइटले सुरुमा फेसनका गरगहना र अरू सामान जस्तै टिसर्ट, पानीका बोतल हुँदै पछि मेकअपका सामान, इलेक्ट्रोनिक्स सामान र घर सजावटका सामान बेच्न थाल्यो । अहिले यसमा ५० जनाभन्दा बढी काम गर्छन् भने काठमाडौं र पोखरा दुवै ठाउँबाट संचालन हुन्छ । सन् २०१६ मा उनीहरूले बेकरीमा हात हाले र अनलाइनबाट केक बेच्न थालेका छन् । कान नसुन्ने नेपाली महिलालाई तालिम दिएर गण्डकी बहिरा समाजसँग मिलेर यो बेकरीमा काम भइरहेको छ ।

एजेन्सीको सहयोगमा