असोज ३,काठमाडौं —संविधान सभाबाट संविधान जारी भएको आज चार वर्ष पुरा भएको छ । २०७२ साल असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्र, धर्म्निरपेक्ष, समावेशी, सामनुपातिक संविधान जारी भएको उपलक्ष्यमा आज देशभर विविध कार्यक्रम गरि मनाइँदै छ ।
सोही अबसरमा शुभकामना दिदै राष्ट्रपति विद्यादेवी भण्डारीले तीनै तहका सरकार सञ्चालनमा आएसँगै संरचनाहरु संस्थागत हुँदै गएको बताएकी छिन् । राष्ट्रपति भण्डारीले संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रलाई आत्मसात् गर्दै प्रेस स्वतन्त्रता र समावेशीता प्रत्याभूति गरेको समेत शुभकामना सन्देशमा उल्लेख गरेकी छिन् ।
उनले स्वदेश र विदेशमा रहेका सबै नेपालीमा सुख, शान्ति र समृद्धि तथा राष्ट्रिय एकता, अखण्डता, आपसी सद्भाव कायमको कामना गरेकी छन् । सामाजिक न्यायमा आधारित समतामूलक समाजको परिकल्पना गर्दै समाजवादउन्मुख अर्थतन्त्रमा मुलुक अघि बढिरहेको राष्ट्रपतिले मुलुकवासीलाई आश्वस्त पारेकी छन् ।
राष्ट्रपति भण्डारीले संविधानको मर्म, भावना र व्यवहारमा रुपान्तरण गर्न आफ्नो तर्फबाट इमान्दार प्रयास गर्न पनि सबैमा आग्रह गरिन् । लामो संघर्ष र प्रतिक्षापछि प्राप्त संविधानको कार्यान्वयन गरि नागरिकको हित र मुलुकको समृद्धि हुने गरी कार्य गर्न समेत उनको अनुरोध छ ।
त्यस्तै, उपराष्ट्रपति नन्दबहादुर पुनले पनि दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै संविधान कार्यान्व्यनमा लाग्न सबैसँग आव्हान गरेका छन् । स्वतन्त्रता, राष्ट्रिय स्वाधीनता, भौगोलिक अखण्डताको मजबुती र राष्ट्रिय एकताको सुदृढीकरणका लागि संविधान कार्यान्वयनमा जुट्नुपर्ने उपराष्ट्रपति पुनले सन्देशमा उल्लेख गरेका छन् ।