‘सक्किगोनी’को टाइटल गीत सार्वजनिक

असोज ३,काठमाडौं—‘सक्किगोनी’ हाँस्य टेलिश्रृंखलाको शीर्ष गीत ओयसआर डिजिटल युटुब च्यानलमार्फत  सार्वजनिक भएको छ ।

सार्वजनिक गरिएको गीतलाई गायक तथा संगीतकार सुगम पोख्रेलको स्वर तथा संगीत रहेको छ । गीतमा प्रकाश घिमिरेको शब्द रहेको छ । बीबी अनुरागीले एरेन्ज गरेको गीतलै कमल थापाले मिक्सिंग गरेका हुन् । ‘सक्किगोनी’ सिरिजलाई अर्जुन घिमिरे (पाँडे) र कुमार कट्टेल (जिग्री)ले लेखन तथा निर्देशन गर्ने भएका छन् । यस सिरियलमा ‘भद्रगोल’मा देखिँदै आएका अधिकांश कलाकारहरू रहने छन् ।

जिग्री र पाँडेसहित सागर लम्साल (बले), हरी निरौला (कक्रोच), मधुसुधन पाठक (सितेबा), रक्षा श्रेष्ठ, कमलमणि नेपाल (खुपीका बाउ), दीपक आचार्य, गोविन्द कोइराला, प्रियाना आचार्य (मुन्नी), सुबोध गौतमलगायतका कलाकारको अभिनय रहने भएको छ ।

टेलिश्रृंखलालाई जिग्री र पाँडे मिलेर स्थापना गरेको कम्पनी जेपिटी क्रियसनमार्फत निर्माण गरिँदै छ । उक्त हाँस्य टेलिश्रृंखला हरेक हप्ता बिहीबार प्रसारण हुने भएको छ । टेलिश्रृंखलालाई नेपाल टेलिभिजनमा बिहीबार राति ८ः५० बजे र ओएसआर डिजिटलको युट्युबमा राति ९ः३० बजे हेर्न सकिने छ ।