पाकिस्तान भारतसँग ८९ रनले पराजित

असार २, काठमाडौं — विश्वकप क्रिकेटमा भारतले पाकिस्तानलाई हराएको छ । इंग्ल्यान्डको म्यान्चेस्टरमा भएको विश्वकप क्रिकेटमा भारतले पाकिस्तानलाई ८९ रनले हराएको हो ।

३३७ रनको लक्ष्यमा ब्याटिङ गरेको पाकिस्तानले पानी परेपछि खेल ४० ओभरको बनाइएको थियो । ४० ओभरमा पाकिस्तानले ३०२ रनको लक्ष्य पाएको थियो ।

तर ६ विकेटको क्षतिमा पाकिस्तानको २१२ रन मात्रै भएपछि ८९ रनले पराजित हुनु परेको हो । फखर जमानले ६२ रन, बाबर अजामले ४८ रन बनाए । इमाद वासिमको अविजित ४६ र शादब खानको अविजित २० रन भयो ।

यता, भारतका तर्फबाट विजय शंकर, हार्दिक पाण्ड्या र कुलदीप यादवले बराबर २–२ विकेट पाए ।

टस हारेर पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ५ विकेटको क्षतिमा ३३६ रन बनाएको थियो । ओपनर रोहित शर्माले भारतका लागि शतक बनाउँदै अगाडी बढेपछि रोहित १४० रनमा आउट भए । रोहितले ११३ बलमा १४ चौका र तीन छक्का प्रहार गरेका थिए । त्यस्तै अर्का ओपनर केएल राहुलले ५७ रन बनाए ।

पहिलो विकेटमा रोहित र राहुलले १३६ रनको साझेदारी गर्दै भारतलाई अगाडी बढाएका थिए । त्यस्तै, विराट कोहली ७७ रन बनाउँदा हार्दिक पाण्ड्या भने २६ रनमा आउट भए ।

बलिङतर्फ मोहम्मद अमिरले तीन विकेट पाए ।