‘बिम्स्टेक शिखर सम्मेलन फलदायी भयो’ —प्रधानमन्त्री

काठमाण्डौँ,२० भदौ —प्रधानमन्त्री केपी शर्मा ओलीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलन फलदायी भएको बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आयोजित बिम्स्टेक शिखर सम्मेलन तयारी तथा व्यवस्थापन मूल समितिको अन्तिम बैठकलाई सम्बोधन गर्दै उनले भने ‘बिम्स्टेक सम्मेलन आयोजना र निर्णय दुबैका दृष्टिले फलदायी भएको छ ।’
ओलीले नेपालमा उत्पादित विद्युत् अन्य देशलाई बिक्री गर्न विद्युतीय ग्रिड चाहिएको उल्लेख गर्दै यस विषयमा काम गर्न जल ऊर्जाको क्षेत्रमा सहयोगको आदानप्रदान गर्ने निर्णय सम्मेलनमा भएको बताए ।
‘जल ऊर्जाको विषयमा भारत र बङ्गलादेशसँग विशेष रुपमा केन्द्रित भएर छलफल भएको छ, जसबाट भारत, बङ्गलादेश र म्यानमार मात्र नभई भविष्यथाइल्याण्डसम्म बिजुली निर्यात गर्न सकिन्छ । ’