महानगरसहित ७ उपमहानगरको पछिल्लो परिणामः एमाले ४, कांग्रेस २ राप्रपा १

 

असार १८,काठमाडौं – दोस्रो चरणमा निर्वाचन भएका १ महानगरसहित सात उपमहानगरपालिकाको पछिल्लो मत गणनाअनुसार नेकपा एमालेले ४ र नेपाली कांग्रेसले ३ स्थानमा अग्रता लिएका छन्। सुनसरीको इटहरी र धरान, रूपन्देहीको बुटवल, दाङको घोराही र तुलसीपुरमा एमालेले अग्रता लिएको छ। यस्तै विराटनगरमहानगरपालिका र धनगढी उपमहानगरपालिकामा कांग्रेसले अग्रता लिएको छ। यता नेपालन्ज उपमहानगरपालिकामा भने राप्रपाले अग्रता कायमै राखेको छ।

विराटनगर महा–नगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका भीम पराजुलीले नेकपा एमालेसँगको अग्रता १ हजार १ सय १ मा लम्ब्याएका छन्। आइतबार विहान ७ बजे अपडेट भएको नयाँ जानकारी अनुसार उनले ३८ सय ७३ मत प्राप्त गरेका छन्।

उनका प्रतिद्वन्दी एमालेका विनोद ढकालले २७ सय ७२ मत प्राप्त गरेका छन्। उनलाई समाजवादी फोरम र माओवादी केन्द्रको मेयर पदका संयुक्त उम्मेदवार उमेश यादवले २१ सय ३१ मत ल्याएर पछ्याइरहेका छन्।

उपमेयरमा कांग्रेस ३३ सय ५१ मतका साथ शीर्षस्थानमा छ। उनलाई संघीय समाजवादी फोरमसँगको सहकार्य गरेको माओवादीका उम्मेद्वार १६ सय १३ मत प्राप्त गर्दै पछ्याइरहेको छन्।

एमालेसँग तालमेल गरेको लोकतान्त्रिक फोरमकी उम्मेदवारले १५ सय ३६ मत प्राप्त गरेकी छिन्।

सुनसरीको इटहरीमा एमालले अग्रता लिएको छ । तीन दिनदेखि नेपाली कांग्रेसले लिएको अग्रता तोड्दै आइतबार बिहानबाट भने एमालेका मेयरका उम्मेद्वार द्धवारीका चौधरीले अग्रता लिएका हुन्। सार्वजनिक भएको पछिल्लो मत परिणाम अनुसार एमाले उम्मेद्वार चौधरीले ५४३३ मत पाएका छन् भने नेपाली कांग्रेसका उम्मेद्वार प्रर्साईले ५३०४ मत ल्याएका छन्।

उपमेयरमा एमालेकै उम्मेद्वार लक्ष्मी गौतमले अग्रता लिएकी छन्। उनले ५२९५ मत ल्याएकी छन् भने नेपाली कांग्रेसकी उम्मेद्वार विमला सिवाकोटील ५२७२ मत ल्याएकी छन्।

धरान उप–महानगरपालिकामा नेकपा एमालेका तारा सुब्बाले मेयर पदमा नेपाली कांग्रेसका तिलक राईलाई उछिनीरहेका छन्।

पछिल्लो मतगणनाअनुसार, धरानमा शनिवार दिउँसोदेखि नै एमालेले पकड बनाएको थियो। इटहरीमा भने बिहान १ सय २९ मतको अग्रता बनायो। एमालेका द्धारिकलाल चौधरीले ५ हजार ४ सय ३३ मत ल्याएर नेपाली कांग्रेसका रोहित प्रसाईलाई उछिन्। रोहितको ५ हजार ३ सय ४ मत छ।

यस्तै, धरान उप–महानगरमा एमालेका तारा सुब्बाको २९ सय ३२ मत छ। उनले कांग्रेसका तिलक राईलाई २ सय ३७ मतले पछाडि पारेका छन्। राईले २६ सय ९५ मत प्राप्त गरेका छन्।

एमालेले रुपन्देहीको बुटवल उपमहानगर तथा दाङको घोराही र तुलसीपुर उपमहानगरपालिकाका ३ स्थानमा आफ्नो अग्रता कायमै राखेको छ।

पछिल्लो मतपरिणामअनुसार, बुटवलमा एमालेका उम्मेदवार शिवराज सुवेदीले ८९६३ मत ल्याएका छन्। माओवादी केन्द्रसँग मिलेर उम्मेदवार बनेका कांग्रेसका खेलराज पाण्डेयले ७५८४ मत ल्याएर कडा टक्कर दिएका छन्। यस्तै उपमेयरमा एमालेकै गोमा आचार्यले ६९३६ मत ल्याएर अग्रता कायमै राखेकी छन् भने संयुक्त उम्मेद्वार बनेका माओवादी केन्द्रका जगतबहादुर पोखरेलले ५४३७ मत ल्याएका छन्।

दाङको तुलसीपुर उपमहानगरपालिकामा एमालेबाट प्रमुखमा घनश्याम पाण्डेयले ६८८७ र उपप्रमुखमा माया शर्माले ६०२९ मत पाएका छन् । नेपाली कांग्रेसबाट प्रमुखमा गेहेन्द्र गिरीले ४८६५ र उपप्रमुखमा देविका नेपाली घिमिरेले ५०९० मत ल्याएका छन्। माओवादी केन्द्रबाट प्रमुखमा शेषुराम भण्डारीले १३७० र उपप्रमुखकी उम्मेद्वारले १३३७ मत ल्याएका छन्।

घोराही उपमहानगरपालिकाका एमालेले मेयरमा ३ हजार ७ सय ७ मतले अग्रता लिएको छ । एमालेका मेयर उम्मेदवार नरुलाल चौधरीले १२ हजार ७ सय ४४ र उपमेयरका उम्मेदवार सीता न्यौपानेले १२ हजार ४१ मत ल्याएका छन्। नेपाली कांग्रेसबाट मेयरका उम्मेदवार भुपबहादुर डाँगीले ९ हजार ३ सय ७ मत प्राप्त गरेका छन्। कांग्रेसका उपमेयरका उम्मेदवार पुष्पा श्रेष्ठले ९ हजार ५ सय ८३ मत प्राप्त गरे।

धनगढी उपमहानगरपालिकामा नेपाली कांग्रेसका नृप वडले २९८६ मत ल्याएका छन्। स्वतन्त्र उम्मेदवार गोपाल हमालले २३४९ मत ल्याएका छन्। त्यस्तै नेकपा एमालेका दुर्गाप्रसाद जोशीले २३२३ मत ल्याएर पछ्याइरहेका छन्।

नेपालगन्ज उपमहानगरपालिकामा राप्रापाले अग्रता बढाएको छ। राप्रपाका धवलशम्शेर राणाले ६५०७ मत ल्याएका छन्। कांग्रेसका सुरेश कुमार कनौडियाले ३९१२ मत ल्याएका छन् भने तेस्रो स्थानमा रहेको माओवादी केन्द्रका उम्मेद्वार दामोदर आचार्यले ३६२४ मत पाएका छन्।

उप प्रमुखमा नेपाली कांग्रेसकी उमा थापामगरले झिनो अग्रता कायम राखेकी छन्। उनले ४८४५ मत पाएकी छन् भने राप्रपाकी रमारानी गुप्ताले ४८२९ मत ल्याएकी छन्।