बार्सिलोना ३–० ले पराजित, डायबाला खेलका नायक

चैत ३०, काठमाडौं – युभेन्ट्सले सन् २०१५ च्याम्पियन्स लिगको फाइनलमा बार्सिलोनाबाट भोगेको ३–१ गोलको गतिलो बदला लिएको छ। युभेन्ट्सले नेपाली समयअनुसार बुधबार बिहान सम्पन्न च्याम्पियन्स लिगको क्वाटरफाइनलअन्तर्गत पहिलो लेगको खेलमा बार्सिलोनालाई आफ्नो घरेलु मैदानमा ३–० गोलले पराजित गर्यो।

फितलो डिफेन्स र डिफेन्सिभ मिडफिल्डका कारण कमजोर देखिएको बार्सिलोनाविरुद्ध २२ मिनेटभित्रै युभेन्ट्सका अर्जेन्टिनी स्ट्राइकर पाउलो डायबालाले २ गोल गरेका थिए। अर्को गोल अनुभवी डिफेन्डर जियोर्जियो चेलिनीले गरे।

डायबालाले खेल सुरु भएको ७ मिनेटमै हुँवा क्वाड्राडोको पासमा डिबक्सभित्र अनमार्क रहेको अवस्थाको फाइदा उठाउदै गोल गरे। दोस्रो गोलका लागि उनलाई २२ मिनेटमा मारियो मान्डजुकिकले पास मिलाइदिएका थिए।

पहिलो हाफमा २ गोलले पछि परेको बार्सिलोनाले दोस्रो हाफको खेलमा पनि आफ्नो डिफेन्सिभ लाइनअपमा कुनै सुधार ल्याउन सकेन्। मिडफिल्डबाट अग्रपंक्तिका तीन स्टार स्ट्राइकर लिओनल मेसी, लुइस सुआरेज र नेइमारलाई बल सप्लाई गर्ने रणनीति अख्तियार गरे पनि युभेन्ट्सको चुस्त डिफेन्स, त्यसमा पनि विशेषत अनुभवी गोलरक्षक जियानलुइगी बुफोनको सक्रियताका कारण बार्सिलोना तुरुन्त गोल फर्काउन असफल रहयो। बुफोनले सुआरेजको कम्तिमा ३ वटा प्रहारलाई निस्तेज पारेका थिए।

घरेलु टोलीका लागि चेलिनीले ५५ मिनेटमा अर्को गोल थपे। उनले आफ्नो टोलीले पाएको कर्नर किकमा जाभियर मास्चिरानोले आफूलाई डिबक्सभित्र नियन्त्रण गर्न नसकेको मौकाको फाइदा उठाउदै हेडिङ गोल गरेका थिए। चेलिनीको च्याम्पियन्स लिगमा आठ वर्षपछि गोल थियो। उनले २००९ मा माकाबी हाफियाविरुद्ध गोल गरेका थिए।

बार्सिलोनालाई पहिलो लेगको खेलमा सर्जियो बस्क्युट्सको कमी मैदानमा पुरै खड्किएको देखिएको थियो। युभेन्ट्सका अगाडि बार्सिलोनाका प्रायः सबै खेलाडी प्रभावहीन देखिन्थे। युभेन्ट्सका स्टार स्ट्राइकर गोञ्जालो हिग्विनले खेल सुरु भएदेखि अन्त्यसम्म गोलका लागि ४ वटा जबरदस्त प्रहार गरेका थिए। तर, त्यो गोलमा परिणत भएन्। मैदानमा उनको दबाब बार्सिलोनाका डिफेन्डरहरुले प्रत्यक्ष अनुभव गरेका थिए।