दावालाई गोली हानेपछि एसएसपीलाई फोन

 

चैत ३०, काठमाडौं – गौरिघाटस्थित बागमति नदि किनारमा रहेको दिव्य पार्टी प्यालेसमा गोली लागेर ‘कहलिएका गुण्डा’ दावा लामा घाइते भएको सूचना आएपछि महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी छबिलाल जोशी र महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दिनेश अमात्य घटानस्थलतर्फ जाँदै थिए। यो खबर हामीले आजको नागरिक दैनिकबाट लिएका हौ।
जोरपाटी नयाँ वस्तीमा बस्दै आएका लामा पार्टी प्यालेसमा रहेको हेल्थ क्लबमा नियमित आउँथे। मंगलबार बिहान ९: २० मा उनले क्लब अगाडि गाडी रोकेर पार्टी प्यालेसको गेटभित्र प्रवेश गर्ने वित्तिकै गोली प्रहार भएको थियो।
घटनास्थल जाँदै गरेका जोशीको मोबाइलमा ९:४०मा कल आयो। नम्बर देखिएको थिएन। प्राइभेट लेखिएको थियो। उनले फोन उठाए। ‘म हङकङबाट लोप्साई राई बोलेको,दावा लामालाई मैले गोली हान्न लगाएको हुँ।’ किन गोली हानेको भनेर सोध्दा जवाफ आयो,‘ उसले मलाई यतिधेरै दुःख दिएको छ त्यो सुन्नुभयो भने तपाईँ रूनुहुन्छ।’
जोशीले भने,‘ घटनामा संलग्न जहाँ भए पनि जोगिन सक्दैन। म रूने होइन तँ रूने दिन आयो अब।’तीन मिनेट २० सेकेन्ड लामो कुराकानी टुंगियो।