मन्दिरभित्र पसेका दलितलाई ५ हजार जरिवाना

माघ २४,रामेछाप  – जिल्लाको बेताली गाविस–३ मा रहेको शेराकाली मन्दिरमा पूजा गरेको विषयमा एक दलित युवालाई जरिवाना गरिएको छ। स्थानीय कृष्णकुमार विश्वकर्मालाई मन्दिरमा पूजा गरेको भन्दै पुजारीद्वय छत्रबहादुर बुढाथोकी र भीमबहादुर बुढाथोकीले गाउँलेको सहयोगमा पाँच हजार रुपैयाँ असुल गरेका छन्। शेराकाली मन्दिरमा साताको शनिबार र मंगलबार दुई दिन मात्र पूजाआजा हुने गरेको छ। यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ।

मन्दिरबाट पुजारी बाहिरिएसँगै नियमित पूजाआजा सबै रोकियो। कृष्णकुमारले पाठी बलि दिन पाएनन्। त्यसपछि पुजारी र कृष्णबहादुरबीच लामो भनाभन भयो। दुवैको भनाभनपछि गाउँले, पूजाका लागि पुगेका भक्तजन र विश्वकर्माका परिवारसहित छलफल भयो। छलफलमा कृष्णबहादुरको गल्ती ठहर्‍याइयो। मन्दिरमा रुद्री लगाएर चोखो नगरी पूजा गर्न नमिल्ने भन्दै पुजारीले कृष्णकुमारसँग पाँच हजार रुपैयाँ माग गरे। उनले पुजारी भीमबहादुर बुढाथोकीलाई पाँच हजार दिए। पुजारीले रकम लिएसँगै आफूले लगेको पाठी बलि दिएको कृष्णकुमारले टेलिफोनमार्फत जानकारी दिए।
शनिबार बिहानै उठेर नुहाइधुवाई गरी कृष्णबहादुर र उनकी श्रीमती एकजोर पाठी लिएर मन्दिर पुगेका थिए। मन्दिर पुगेपछि उनी आफूले लगाएको छालाको पेटी र चप्पल बाहिर फुकालेर पूजा गर्न मन्दिरभित्र पसे। अकस्मात् मन्दिरभित्र कृष्णबहादुरलाई देखेपछि ‘तँ अछुत जात (दलित) मन्दिरभित्र पस्नै नहुने, पसिस्’ भनेर मन्दिरका पुजारी चिच्याउँदै बाहिर निस्किए।
सरकारले छुवाछूतको अन्त्य गरेको धेरै समय भइसकेको छ। तर, आफूजस्ता दलितले अहिले पनि मन्दिरभित्रै पसेर पूजा गर्न नपाउँदा दुःख लागेको कृष्णबहादुरले बताए। मन्दिरमा पूजा गर्न नदिने र क्षतिपूर्ति भराउन लगाउने मन्दिरका पुजारीद्वयविरुद्ध बेताली प्रहरी चौकीमा आइतबार लिखित उजुरी दिएको उनले बताए।
मन्दिरका दुवै पुजारी छत्रबहादुर र भीमबहादुर मोबाइल स्विच अफ गरेर बसेका छन्। पटक–पटक प्रयास गर्दा पनि उनीहरूसँग सम्पर्क हुन सकेन। स्थानीय विनोद फुँयालका अनुसार बेतालीमा रहेको शेराकाली मन्दिरमा परम्परादेखि नै महिनावारी भएका महिला र दलित मन्दिरभित्र पस्न पाउँदैनन्। मन्दिरका पुजारीलाई कृष्णकुमारले पाँच हजार बुझाएसँगै रुद्री लगाएर पुनः नियमित रूपमा पूजा सञ्चालन गरेको बेताली गाविसका प्राविधिक सहायक बाबुराम घिमिरेले जानकारी दिए। सो मन्दिरमा पूजा गर्न दोलखा, सिन्धुलीदेखि भक्तजन आउने गरेका छन्।
मन्दिरमा दलितलाई पूजा गर्न नदिएको र उल्टै पुजारीले पाँच हजार असुलेको विषयमा उजुरी परेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक कुमुद ढुंगेलले जानकारी दिए। उनका अनुसार अहिले दुवै पक्षलाई राखेर छलफल भइरहेको छ। ‘मन्दिर कसैको पेवा होइन,’ उनले भने। डिएसपी ढुंगेलले प्रहरी चौकीबाट मेलमिलाप नभए छुवाछूत मुद्दा दर्ता गरेर कानुनअनुसार कारबाही गरिने बताए। मन्दिरभित्र दलित पस्यो भनेर जरिवाना गराउने पुजारीलाई कानुनअनुसार कारबाही गर्न आफूले प्रहरी प्रमुखलाई निर्देशन दिइसकेको रामेछापका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले जानकारी दिए।