‘दाहालबाट निर्वाचन असम्भव हुँदै गएकाले यस विषयमा पुनर्विचार गर्न देउवालाई ओलीको आग्रह

माघ २४,काठमाडौं – प्रमुख प्रतिपक्षी दल एमालेका नेता ओलीले कांग्रेस सभापति देउवासँग प्रधानमन्त्री पुष्पकमल दाहालबाट निर्वाचन असम्भव हुँदै गएकाले यस विषयमा पुनर्विचार गर्न आग्रह गरे। यो खबर हामीले आजको अन्नपूर्णबाट लिएका हौ।

ओलीले आइतबार बिहान सत्ताको मुख्य घटक कांग्रेस सभापति देउवासँग टेलिफोन वार्ता गरी निर्वाचनमा जोड दिएका थिए। स्रोतले भन्यो, ‘दाहालबाट कुनै पनि हालतमा कुनै पनि निकायको निर्वाचन हुन नसक्ने हुँदा वर्तमान सरकारको विकल्प सोच्नुपर्‍यो। संविधान कार्यान्वयनका लागि कांग्रेस गम्भीर हुन नसके राष्ट्र ठूलै दुर्घटनातर्फ धेकेलिन सक्छ।’ प्रत्युत्तरमा देउवाले आफूले यस विषयमा कांग्रेसमा कुरा गर्ने बताए।
यसैबीच कांग्रेस सभपाति देउवा र प्रधानमन्त्री दाहालबीच संविधान संशोधन, स्थानीय निर्वाचनलगायत विषयमा गम्भीर छलफल भएको जानकारी प्रधानमन्त्री सचिवालयले दिएको छ। प्रतिपक्षी दलका नेता ओलीसँगको टेलिफोन वार्तापछि प्रधानमन्त्री दाहालसँग भेट्न पुगेका देउवालाई दाहालले संविधान संशोधन र निर्वाचनको वातावरण सिर्जना गर्न विशेष भूमिका निर्वाह गर्न आग्रह गरे।
देउवाले आगामी वैशाखमा स्थानीय निर्वाचन गराउन र त्यसका लागि उपयुक्त वातावरण सिर्जना गर्न परिर्माजनसहितको संविधान संशोधन अपरिहार्य रहेकोमा जोड दिएको स्रोतले बतायो।