पाकिस्तानी प्रधानमन्त्रीले भने– ‘आतंकवाद र स्वतन्त्रता संघर्ष अलग कुरा हुन्’

वासिंटन – पाकिस्तानका प्रधानमन्त्री नवाज शरीफले कश्मिरमा भइरहेको हिंसाका बारेमा अमेरिका पुगेर टिप्पणी गरेका छन् ।

उनले अमेरिकामा बस्दै आएका पाकिस्तानी समुदायलाई सम्बोधन गर्दै आतंकवाद र स्वतन्त्रता संघर्षलाई अलग रुपमा राखेर हेर्नुपर्ने खाँचो औंल्याए ।

भारत प्रशासित कश्मिरमा भइरहेको हिंसालाई भारत र पाकिस्तानले अलग–अलग दृष्टिकोणबाट व्याख्या गर्दै आएको सन्दर्भमा पाकिस्तानी प्रधानमन्त्री शरीफले आफ्नो दृष्टिकोणको बचाउ गरेका हुन् ।

भारतले कश्मिरमा पाकिस्तानद्वारा प्रायोजित आतंकवादका कारण हिंसा हुने गरेको बताउँदै आएको छ भने पाकिस्तानले कश्मिरी जनताले स्वतन्त्रताका लागि गरेको संघर्षका रुपमा व्याख्या गर्दै आएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै पाकिस्तानी प्रधानमन्त्री शरीफले भने, ‘भारत प्रशासिल कश्मिरमा मानव अधिकार उल्लंघन बन्द हुनु पर्दछ, विश्वले आतंकवाद र स्वतन्त्रताको संघर्षबीच भिन्नता राख्नै पर्दछ ।’

उनले पाकिस्तान कश्मिरी जनताको आत्मनिर्णयको अधिकारलाई सम्मान गर्न सदैव तयार रहेको बताए ।

पाकिस्तानी प्रधानमन्त्री शरीफ संयुक्त राष्ट्रसंघको सभामा सहभागी हुन अमेरिका पुगेका हुन् । (एजेन्सी)