संविधान दिवसको अवसरमा ५ सय ३७ कैदीको कैद माफी

असोज ३, काठमाडौँ – सरकारले संविधान दिवसको अवसरमा ५ सय ३७ कैदीको कैद माफी गरेको छ । उनीहरु आज कैदबाट छुटेका छन । आइतबार बसेको मन्त्रिपरिषद बैठकले गृह मन्त्रालयको सिफारिस अनुसार बालबालिका र महिला बेचविखन, अवैध हतियार, बलात्कार, अपहरण, संगठित अपराध, भ्रष्टाचारलगायत गम्भीर प्रकृतिको अपराधबाहेकका कार्यविधिले तोकेअनुसारको कैद सजायँ काटेका कैदीको कैद मिनाहाको निर्णय गरेको हो । यसअघि गणतन्त्र दिवसमा सरकारले ८ हजार ८ सय ७ कैदीको कैद मिनाहा गरेको थियो । सरकारले असल चालचलन भएको, ६० प्रतिशत कैद भुक्तान गरिसकेको व्यक्तिलाई राष्ट्रिय दिवस पारेर कैद मिनाहा गर्दै आएको छ । मन्त्रिपरिषद बैठकले गृह मन्त्रालयका सहसचिव विनोद केसीलाई सचिवमा र अर्थ मन्त्रालयका सहसचिव कृष्ण देवकोटालाई कामु सचिवमा बढुवा गर्ने निर्णय पनि गरेको छ । विभिन्न सरकारी उद्योगलाई सार्वजनिक निजी साझेदारीमा सञ्चालन गर्ने, नेपाल औषधि लिमिटेडलाई सरकार आफैंले सञ्चालन गर्ने विषयमा बैठकमा सैद्धान्तिक सहमति पनि भएको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो भारत भ्रमणको उपलब्धिबारे जानकारी गराएका थिए ।