नेविसंघ महाधिवेशनको बन्द सत्र सुरु हुँदै

साउन २५, काठमाडौं– सत्तारुढ नेपाली काँग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघको ११ औं महाधिवेशनको बन्द सत्र सुरु हुँदैछ। ९ वर्षपछि आइतबारदेखि सुरु भएको महाधिवेशनको वन्द सत्र सदस्यता विवाद समाधानका लागि भन्दै सोमबार स्थगित गरिएको थियो। स्थगित बन्द सत्र मंगलबार दिउँसो २ बजेदेखि सुरु हुने नेविसंघ प्रवक्ता युपी लामिछानेले जानकारी दिए।

लामिछानेका अनुसार प्रतिनिधि विवाद समाधान भएपछि मात्रै बन्द सत्र सुरु हुनेछ। विवाद नरहेका जिल्लाहरुका प्रतिनिधिलाई मंगलबार पनि प्रतिनिधि प्रवेश पास वितरण गरिरहिएको छ। विद्यार्थी राजनीतिमा पार्टीको हस्तक्षेपका कारण नेविसंघको महाधिवेशन पटक पटक मिति तोकिएर पनि स्थगित हुँदै आएको थियो। महाधिवेशन नहुँदा नेविसंघ तदर्थवाद्मा चल्दै आएको थियो। पार्टी सभापतिमा शेरबहादुर देउवाको विजयसँगै ६ महिनाभित्र नेविसंघको महाधिवेशन गर्ने काँग्रेस केन्द्रीय समितिको निर्णय अनुसार नेविसंघको महाधिवेशन सुरु भएको हो। पार्टी सभापति देउवाले पार्टीका सबैजसो केन्द्रीय सदस्य र नेविसंघका सयौं कार्यकर्ताका माझ भृकुटीमण्डपमा महाधिवेशन उद्घाटन गरेका थिए।

महाधिवेशनमा ३ हजार ४ सय प्रतिनिधि सहभागी छन्। तर महाधिवेशन सुरु भइसक्दा समेत ११ जिल्लाको प्रतिनिधि विवाद् भने टुंगिएको छैन। तीन दिनसम्म चल्ने महाधिवेशनमा सोमबार मनोनयन दर्ता र मंगलबार मतदानको कार्यक्रम छ। ९ वर्षपछि महाधिवेशन भएकाले नेतृत्वमा पुग्ने आकांक्षीहरुको संख्या धेरै देखिएको छ। अर्को महाधिवेशनदेखि ३२ वर्ष उमेर पुगेका विद्यार्थीले नेतृत्वको अवसर नपाउने गरी विधान संशोधन हुन लागेका कारण पनि नेतृत्वका आकांक्षीहरुको संख्या धेरै भएको हो।

अध्यक्षका सभापति शेरबहादुर देउवा पक्षबाट पूर्वमहामन्त्री जितजंग बस्नेत र पूर्वउपाध्यक्ष नैनसिंह महर तथा बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट मनोजमणि आचार्य, लक्ष्मण आचार्य, निलकण्ठ रिजाल, आनन्दराज त्रिपाठी, दिपक भट्टराई लगायतले उम्मेदवारी घोषणा गरेका छन् भने कृष्ण सिटौला पक्षबाट कुन्दनराज काफ्लेले उम्मेदवारी घोषणा गरेका छन्।

महाधिवेशनले एक अध्यक्ष, ११ जना उपाध्यक्ष, २ महामन्त्री, १३ सहमहामन्त्री र एक कोषाध्यक्षसहित १ सय २९ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने छ। त्यसवाहेक विभिन्न पद्मा २२ जना मनोनित गरिने छन्।