इराकमा अपहरित भारतीय नागरिक जीवित– भारत

नयाँ दिल्ली, ६ असार । भारतीय विदेशमन्त्री सुष्मा स्वराजले इस्लामिक स्टेट (आइएस) समूहले इराकमा अपहरण गरेका ३९ जना भारतीय नागरिक जीवितै रहेका बताउनुभएको छ ।

ती ३९ नागरिक इराकमा अपहरणपछि मारिएको भनी आएको समाचारपछि राजधानी नयाँ दिल्लीमा पत्रकार सम्मेलनको आयोजना गरी उहाँले सो जानकारी दिनुभएको हो ।

मारिएको भनी आएको समाचारको उहाँले खण्डन गर्नुभएको हो । पत्रकार सम्मेलनमा उहाँले आफूले हालै गरेको खोजीका क्रममा उनीहरु जीवितै रहेको सूचना पाएको बताउनुभएको छ ।
‘मैले अपहरित ती व्यक्तिहरुका बारेमा खोजीका साथै इराकी अधिकारीसँग सम्पर्कमै रहेको छु र उनीहरु जीवितै रहेको जानकारी पनि प्राप्त गरेकी छु– उहाँले भन्नुभयो ।

सन् २०१४ को जुन माहिनमा अपहरणमा परेका ३९ जना भारतीय नागरिक मारिएको अनुमान गरिँदै आएको छ । तर भारत सरकारले भने त्यसको खण्डन गर्ने गरेको छ ।

तर उनीहरु कहाँ छन् र कुन अवस्थामा छन् भन्ने बारेमा भने केही बताइएको छैन । विदेशमन्त्री स्वराजले ती भारतीयको रिहाइको लागि कूटनीतिक क्षेत्रबाट व्यापक मात्रामा पहल भइरहेको पनि जानकारी सो पत्रकार सम्मेलनमा दिनुभएको थियो ।