जर्मनी राजदूतद्वारा अस्पताल भवन हस्तान्तरण

नुवाकोट, ६ असार । जर्मन सहयोग नियोग (जिआइजेड)ले निर्माण गरेको सुविधा सम्पन्न प्रि–फ्याव भवन आज एक कार्यक्रमका बीच जर्मनी राजदूत म्याथियज मेयरले जिल्ला अस्पताल त्रिशूलीलाई हस्तान्तरण गर्नुभएको छ ।

अस्पताललाई भवन हस्तान्तरण गर्दै राजदूत मेयरले आफूले थुप्रै स्वास्थ्य संस्था र अस्पतालका भवनहरु हेरेकामा नुवाकोटमा निर्माण भएको अस्पतालको भवन निकै आकर्षण र सुविधा सम्पन्न रहेको बताउनुभएको छ ।

उहाँले भूकम्पका कारण क्षति व्यहोरेको नेपालका १४ वटा जिल्लामा जर्मनी सरकार भौतिक संरचना पुनःनिर्माणका लागि सहयोग गर्न तयार रहेको बताउनुभएको छ ।

जिआइजेडले छ महिना लगाएर १५ शैया क्षमताको सुविधा सम्पन्न भवन निर्माण गरेको कार्यक्रममा जानकारी दिइएको छ ।

जिआइजेडका सिद्धार्थ नरसिंह शर्माका अनुसार १७ वटा कोठा तयार गर्न रु एक करोड २२ लाख खर्च भएको छ ।

स्वास्थ्य मन्त्रालयका सचिव पदमबहादुर चन्दले भूकम्प गएको १४ महिनापछि पनि बिरामीलाई पालमा राखेर उपचार गराइरहनुपर्ने बाध्यतालाई चाँडै नै अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो ।

जिल्ला त्रिशूली अस्पताल विकास समितिका अध्यक्ष अरुणकुमार श्रेष्ठले नुवाकोट, रसुवा र धादिङ जिल्लाका नागरिकले नियमित सेवा लिइरहेको जिल्ला अस्पताल त्रिशूलीलाई पूर्ण क्षमताको बनाइने बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पोखरेलले सुविधायुक्त अस्पताल भवन ग्रामीण भेगमा पनि आवश्यक रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय नुवाकोटका प्रमुख विश्वराम श्रेष्ठले जिल्लामा ८१ वटा स्वास्थ्य संस्थाको भवन बनाउनुपर्ने अवस्था रहेको जानकारी गराउनुभयो ।