आन्दोलनकारीले समाते ट्राफिकको कठालो

जेठ ६, काठमाडौं–  मधेसीलगायतका पहिचानवादी गठबन्धनले राजधानीमा आन्दोलन सुरु गरेको चौथो दिन रत्नपार्कमा आमसभा आयोजना गरिएको थियो ।

वीर अस्पतालबाट सुरु भएको र्‍याली बागबजार, पुतलीसडक हुँदै सहिदगेट पुगेको थियो र्‍याली भद्रकाली मन्दिरअगाडि पुग्दा पछाडि जाम निकै ठूलो भइसकेको थियो । सवरीचालकहरूले एकैलयमा हर्न बजाएर आन्दोलनकारीलाई बाटो छाड्न दबाब दिइरहेका थिए।

आक्रोशित केही आन्दोलनकारी पछाडि फर्केर चालकहरूमाथि जाइलागे । प्रहरीले नियन्त्रण गरेपछि झडपले अप्रिय रूप लिन पाएन । जुलुस फेरि अघि बढ्यो, सहिदगेट पार गर्नासाथ दुई लेनको सडकमा जुलुस एक लेनमा सीमित भयो, अर्को लेनबाट गाडी चल्न थाले ।

समानान्तर भएपछि आन्दोलनकारी र सवारीचालकबीच फेरि भनाभन भयो । उत्तेजित आन्दोलनकारी सवारीचालकमाथि झम्टिए, केही मोटरसाइकल पल्टिए । फेरि प्रहरीले हस्तक्षेप गरेर शान्त पार्‍यो । जुलुस पार नहुँदै सवारीसाधन छाडेको भनेर आन्दोलनकारी ट्राफिक प्रहरीसँग आक्रोशित थिए ।

जुलुस सुन्धारा हुँदै रत्नपार्कतर्फ जानुपर्ने थियो, तर त्रिपुरेश्वरतिरबाट पनि सवारीसाधन आइरहेका थिए । सवारीसाधन नरोकेर झडप निम्त्याउन खोजेको भन्दै एक आन्दोलनकारी ट्राफिक प्रहरीमाथि जाइलागे । सडकमा राखिएको प्लास्टिकको डिभाइडर उठाएर उनले प्रहरीलाई लखेटे, आन्दोलनकारीले हानेको झटारोले ट्राफिकलाई लाग्यो ।

पछाडि जुलुस थियो, त्यसैले प्रहरीले ज्यान जोगाउनु नै उत्तम ठानेर पनि भाग्न खोजे । तर, आन्दोलनकारी युवा फेरि डिभाइर उठाएर ट्राफिकको पछाडि लागे । यसपालि उनले डिभाइडरले हिर्काएनन्, बरु कठालोमा समातेर धकेलिदिए । धकेलिएर अलिक पर पुगेका ट्राफिक प्रहरी उतैबाट गाडी रोक्नतिर लागे, युवा जुलुसमा फर्किए ।