अमेरिकाले घटायो कागजी प्रक्रिया, कन्सलटेन्सीहरू उत्साहित

जेठ ६, काठमाडौं–अमेरिकाले पर्यटक तथा विद्यार्थी भिसाका आवेदकका लागि कागजी प्रक्रिया घटाएपछि डकुमेन्ट बनाउने नाममा विकृति फैलाउनेहरुको निद हराएको छ ।

कतिपय कन्सलटेन्सी तथा दलालहरुले बैंक ग्यारेन्टी, लालपुर्जा, निमन्त्रणा पत्रलगायतका डकुमेन्ट बनाउने नाममा जथाभावी रकम लिंदै आएका थिए ।

उनीहरुले ‘गुड फर पेमेन्ट’ को चेक बनाउनका लागि एक लाखको दैनिक एक हजार असुल्दै आएका थिए । राजधानीमा आकर्षक कार्यालय खोली त्यस्ता कन्सलटेन्सी र दलालहरुले शत प्रतिशत भिषा ग्यारेन्टी भन्दै नक्कली कागजात बनाई जथाभावी रकम असुली गर्न थालेको भेटिएपछि अमेरिकी दूतावासले त्यस्ता विकृतिलाई रोक्न कागजी प्रक्रिया घटाएको हो ।

कन्सलटेन्सीहरूले भिसा दिलाइदिने वाचा सहित आवेदकहरूबाट उनीहरूको पहिचानसम्बन्धी लगायत गोप्य सूचनाको चोरीमा प्रयोग हुनसक्ने कागजपत्र समेत लिने गरेको जानकारी दूतावासले प्राप्त गरेकाले कागजी प्रक्रिया घटाएको हो ।

आवेदकहरूलाई सम्भावित छलकपटबाट जोगाउनका साथै उनीहरूको पैसा र समय बचत होस् भनी उनीहरूले अबदेखि बैंक मौज्दात विवरण, जग्गासम्बन्धी कागजात, निमन्त्रणा पत्र वा त्यस्तै अन्य कागजपत्र ल्याउनु पर्दैन ।

जेठ १९ गतेबाट लागू हुने गरी पर्यटक तथा विद्यार्थी भिसाका लागि आवेदन दिने व्यक्तिहरूले भिसाको अन्तर्वार्ताका लागि उपस्थित हुँदा आवश्यक थोरै मात्र कागजपत्र ल्याए पुग्ने दूतावासले जनाएको छ ।

त्यस्तै अमेरिकी दूतावासले अन्तर्वार्तामा ल्याइएका सम्पूर्ण शैक्षिक ट्रान्स्क्रिप्टहरूको प्रमाणीकरण गर्ने जनाएको छ ।

कन्सलटेन्सीहरूलाई अन्तर्वार्ताका लागि कागजपत्र तयार पार्न वा प्राप्त गर्न नगद रकम तिरेको र पछि त्यस्ता कागजपत्रहरू कन्सुलर अधिकृतहरूले नखोजेको अमेरिकी भिषाका केही आवेदकहरूको गुनासो छ ।

पर्यटक तथा विद्यार्थी भिसाका लागि आवेदन दिने व्यक्तिहरूले राहदानी, पुराना राहदानी, डिएस–१६० कन्फर्मेशन पेज, आवेदन शुल्क भुक्तानी रसिद, फोटो, आई–२०(विद्यार्थी भिसा आवेदकका लागि) र ट्रान्स्क्रिप्ट (विद्यार्थी भिसा आवेदकका लागि) पेश गर्नुपर्ने जनाएको खबर  यूनाइटेड पोष्ट साप्ताहिकमा छ ।

अमेरिकी दूतावासले चालेको कदमले राम्रो काम गर्ने कन्सलटेन्सीहरुलाई सहज हुने मोडल ग्लोबल भिसाज कन्सलटेन्सीका सञ्चालक मनोज पाण्डेको भनाई छ ।