नारायणगढ–मुग्लिन सडक दुईतर्फी नै सञ्चालन

जेठ ५, काठमाडौं–  पहिरोका कारण मङ्गलबारदेखि एकातर्फी सञ्चालन हुँदै आएको मुग्लिन नारायणगढका सवारीसाधन आज बिहान पहिरो हटाएपछि दुबैतर्फी सञ्चालनमा आएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सडक सुचारु भएपछि रोकिएका सवारीसाधन अहिले गन्तव्यतर्फ जान थालेका छन् ।

साँझ अवरुद्ध बनेको सडक राति पहिरो पन्छाएर एकातर्फ खुलाइएको थियो । आज बिहानबाट भने दुईतर्फी बाटो खुलेपछि यातायात सहज बन्दै गएको चितवन प्रहरीले जनाएको छ ।

मङ्गलबार साँझ भारी वर्षासँगै खसेको चण्डीभज्ञ्याङ–९ स्थित नौ किलो भन्ने स्थानमा पहिरो खसेको थियो ।

पहिरोका कारण अवरुद्ध भएको सडक राति १० बजेदेखि एक्साभेटरको सहयोगमा एकतर्फी मात्रै सडक सञ्चालन गरिएको थियो ।

सो क्षेत्रमा सडक विस्तारको क्रममा रहेकाले सामान्य पानी आउने बित्तिकै पहिरो खस्ने गरेको छ । हप्ता दिनको अन्तरालमै यहाँ दुईपटक पहिरोले बाटो अवरोध गरिसकेको छ ।