अध्यक्षका लागि थापालाई गरिएको प्रस्ताव अस्विकार

वैशाख १०, काठमाडौं–राप्रपा र राप्रपा नेपालबीचको पार्टी एकीकरण रोचक चरणमा प्रवेश गरेको छ । एकीकृत पार्टीको कार्यकारी अध्यक्ष आफू हुनुपर्ने भन्दै कमल थापाले दावी पेश गरे पनि राप्रपाले त्यस प्रस्तावलाई अव्यवहारिक भन्दै ठाडै अस्वीकार गरिदिएको छ ।

संसदमा २५ सदस्य भएको कारण राप्रपा नेपाललाई कार्यकारी अध्यक्ष प्राप्त हुन्छ भन्ने लागेको थियो । तर, राप्रपा नेपाल बस्तुतः मूलधार पार्टी राप्रपाबाट फुटेको समूह हो । आवधिक निर्वाचनमा तलमाथि हुुने अवस्था हुन्छ नै ।

‘एउटा निर्वाचनमा मत बढी आयो भन्दैमा सधैं त्यस्तै हुन्छ भन्ने हुन्न । यसअघि राप्रपा नेपालको चार सीट मात्र थियो, अब के हुन्छ थाहा छैन । राप्रपा नेपालसँग प्रत्यक्षबाट कुनै सीट छैन, बास्तविकता यही हो । त्यसैले व्यवाहारिक सहमति खोज्नु पर्ने हुन्छ,’ राप्रपाका एक नेताले भने ।
पद्मसुन्दर लावती समूह र अहिले केशरबहादुर विष्ट समूह अलग्गिएपछि कमल थापाको संगठन देशभरि चिरा परेको राप्रपाका नेताहरूले राम्ररी बुझेका छन् ।

बढी मत प्राप्त गर्ने ललितपुर, बाँके, झापा, काठमाडौं, मोरङ, सुनसरी, धनुषा, भक्तपुर जिल्लाका संगठन फुटेका छन् ।

‘राजतन्त्रको मुद्दा परित्याग गरेको भन्ने छवीका कारण गत निर्वाचनमा जस्तो राप्रपा नेपालले मत पाउने संभावना देखिन्न’, ती नेताले भने । यस्तै परिबन्धका कारण पार्टी एकीकरण थापाका लागि बाध्यता हो भन्ने राप्रपा नेतृत्वपंक्ति स्पष्ट छन् ।

कार्यकारी अध्यक्ष पद लिनुपर्छ, नलिए एकीकृत पार्टीमा अस्तित्व गुम्छ, हराइन्छ भन्ने डर थापा पक्षधरमा छ । थापा निकट स्रोतका अनुसार, ‘अब के गर्ने भन्ने टुंगो भएको छैन । कार्यकारी अध्यक्षमा कुरा नमिलेपछि वार्ताबारे के गर्ने अध्यक्ष ९कमल थापा० नेपाल फेर्कपछि मात्र तय हुन्छ ।’

तीन पटक प्रधानमन्त्री भइसकेका राप्रपा अध्यक्ष लोकेन्द्र बहादुर चन्दलाई थापाको मातहतमा राख्ने राप्रपा नेपालको दावी व्यवहारिक मानिएको छैन ।

पशुपति शम्शेर स्वयम् कमल थापा महामन्त्री हुँदाको पार्टी अध्यक्ष हुन् । थापा विद्यार्थी मण्डलमै कार्यरत छँदा डा। प्रकाश चन्द्र लोहनी पटक–पटक मन्त्री भइसकेका थिए ।