परीक्षा केन्द्रमै झाडापखाला, ७ दर्जन परीक्षार्थी र आधा दर्जन शिक्षक बिरामी

चैत २३, जाजरकोट– जाजरकोटको सदरमुकामबाट पैदल दुई दिन टाढा पश्चिमी क्षेत्र दसेरास्थित एसएलसी परीक्षा केन्द्रमा तीन दिनयता झाडापखालाको संक्रमण फैलिँदा जाँच दिइरहेका सात दर्जन परीक्षार्थी र आधा दर्जन शिक्षक विरामी परेका छन्। जनप्रिय उच्च मावि केन्द्रमा फैलिएको प्रकोपले परीक्षा अवधिभरमा एकै विद्यार्थीलाई ३÷४ पल्टसम्म पखाला लाग्ने गरेको छ। पखालाबाठट शिक्षक र परीक्षार्थी विरामी परेपछि परीक्षासमेत प्रभावित भएको छ। यो परीक्षा केन्द्रबाट रामोदय मावि जेवा दसेरा, कालिका मावि सोडारी साल्मा, बाल उच्च मावि झाप्रा र सरस्वती उच्चमावि सीमाका गरी ५ सय २१ विद्यार्थीले एसएलसी दिइरहेका छन्। विरामीलाई टाउको दुख्ने, ज्वरो आउने र पखाला लाग्ने गरेको दसेरा स्वास्थ्य केन्द्रका अहेब विष्णु गिरीले बताए। पखालाबाट केन्द्राध्यक्ष शेरबहादुर अधिकारी, निरीक्षक हर्कबहादुर थापा, विपना थापा, ऐनवहादुर थापा र कल्पना गिरीसमेत विरामी परेको गिरीले बताए। (कान्तिपुर दैनिकबाट)