अतिक्रमण गरी बनाइएका टहरा भत्काइयो

चैत १६, भीमदत्तनगर– कञ्चनपुरको भीमदत्तनगरपालिका–१८ सालघारीस्थित महेन्द्रनगर नगर विकास समितिको जमिनमा अतिक्रमणकारीले बनाएका घर टहरा आज नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले भत्काएको छ।

स्थानीय प्रशासनले पर्यावरणीय पार्क रहेको सालघारीको जमिनमा मनोमानी ढङ्गले बनाएका टहरा भत्काउन आग्रह गर्दासमेत बेवास्ता गरेपछि बल प्रयोग गरी अतिक्रमण खाली गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक केदार खनालले बताए।

सालघारी क्षेत्रमा केही दिनअघि बनाइएका करिब ५० भन्दा बढी टहरा जिल्ला प्रहरी कार्यालय, दङ्गा नियन्त्रण प्रहरी गण, सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय र शैलेश्वरी गणको संयुक्त टोलीले भत्काएको हो।

“स्थानीय प्रशासनले टहरा नबनाउन माइकिङ गरेरसमेत आग्रह गरेको हो ।” प्रवक्ता खनालले भने – “सरकारी जमिन कब्जा गर्ने नियत राखिएपछि भत्काइएको हो।”

पैंतालिस बिगाहामा रहेको पर्यावरणीय पार्कमा रहेका सयौँ सालका रुखसमेत बिभिन्न पीडितका नाउँमा जग्गा कब्जा गरी बसेकाहरुले कटान गरेका छन्।