कांग्रेस नेतृत्वका चुनौती र कार्यभार

अर्जुननरसिंह केसी

–देश र दुनियाँले विशेष चासोका साथ हेरेको नेपाली कांग्रेसको तेह्रौं महाधिवेशन पूर्ण लोकतान्त्रिक विधि र प्रक्रियासाथ सम्पन्न भएपछि नयाँ नेतृत्वका लागि कठिनाइ, चुनौती र अवसरका नयाँ आयाम सुरु भएका छन् ।

राष्ट्रले यसै साल भोगेको विनाशकारी भूकम्प, बाढी–पहिरो, अपार जनधनको क्षति, आपूर्ति व्यवस्थाको संकटबाट अस्तब्यस्त जनजीवन, कांग्रेसको नेतृत्व र समन्वयमा संविधानसभाबाट संविधान जारी गरिएको ऐतिहासिक उपलब्धिपछिको मिश्रित अवस्थामा सम्पन्न भएको यो महाधिवेशनको निर्देशन र नेतृत्व सामुका निर्णय गम्भीर र चुनौतीपूर्ण छन् ।

दक्षिण एसियाका जेठो प्रजातान्त्रिक राजनीतिक दलहरू मध्येको एक, कांग्रेसमाथि नयाँ जिम्मेवारी र विरासतका अभिभारा पनि त्यति नै छन् ।

‘छिपछिपे ज्ञान र टालटुले समाधान’ले अबका अभिभारा पुरा गर्न सकिन्न । विगतमा ६०र४० भागबन्डाको आपत्तिजनक परिपाटी, संस्थागत पद्धतिको मूल्यमा देखापरेका अनेक अवाञ्छित व्यक्तिवादी गुट–उपगुट तथा सानो सिन्डिकेटको निर्णय लाद्ने प्रवृत्तिलाई मेटाएर एकता, अनुशासन, आन्तरिक लोकतन्त्रलाई सुदृढीकरण गर्ने र पार्टीलाई नेतामुखी होइन, नीतिमुखी तथा कार्यकर्तामुखी बनाउने र संस्थागत, विधिसम्मत, पारदर्शी सामूहिक नेतृत्वको महाधिवेशनका साथै लोकतान्त्रिक आन्दोलनलाई सशक्त बनाउँदै राष्ट्रिय एकता अभियानलाई गति दिनुपर्ने यो महाधिवेशनको साझा चाहना हो ।

पार्टीमा व्यापक एकता र नेतृत्वबाट व्यवहार कुशलताको अवस्थामा मात्र यो जिम्मेवारी हासिल गर्न सकिन्छ । राजनीतिमा विभाजित बहुमतभन्दा एकतापूर्ण अल्पमत धेरै सशक्त र निर्णायक हुन्छ ।

विगत ५ वर्षमा पार्टीभित्र अनेकौं कमी—कमजोरी देखापरे । तर त्यसैका चिन्ता र दोषारोपणमा अबको अमूल्य समय खर्च गरेर वर्तमान नेतृत्वको औचित्य र सान्दर्भिकता रहँदैन ।

महाधिवेशनको म्यान्डेटका आधारमा पार्टीको दशा र दिशाको समीक्षा गर्नुका साथै नवीन चिन्तनका साथ अगाडि जाने नीति निर्धारणमा लागिहाल्नु आवश्यक छ ।

निर्वाचनका दौरान आफैंभित्र उत्पन्न घात–प्रतिघातको रोगबाट संक्रमित तिक्त अवस्था र त्यसले बनाएको विषाक्ततालाई उचित उपचारका साथ मेटाउँदै पार्टीभित्र उत्साही र प्रितीकर वातावरण बनाएर लक्ष्यमा पुर्‍याउने जिम्मेवारी सभापति र पदाधिकारीहरूको काँधमा आएको छ ।

मान र स्थानको पर्वाह होइन, सबैलाई यथोचित कदर र जिम्मेवारीसँग जोड्ने र कर्तव्य बहनमा सबैलाई सहभागी बनाउनेबारे अबका निर्णयहरू केन्द्रित हुनुपर्छ ।

५ वर्षभन्दा अघिदेखि निरन्तर रूपमा, विशेषगरी यसपालीको महाधिवेशनमा मैले पार्टीको शुद्धीकरण तथा लोकतन्त्रको सुदृढीकरणका लागि उठाउँदै आएका एजेन्डाहरू एवं मूल्य र मान्यताहरूलाई मूर्तरूप दिनु नै पार्टीमा बसेर जनमुखी सेवा गरेको र नयाँ नेतृत्वलाई पूर्ण सहयोग पुर्‍याउन प्रयत्नशील र प्रतिबद्धता हो भन्ने मेरो मान्यता छ । सँगै बस्ने तर नजिक हुन नसक्ने विद्यमान अवस्थाको अब अन्त्य हुनैपर्छ ।

पार्टीभित्रको चुनावी प्रतिस्पर्धा एकताको मूल्यमा हार वा जितको दम्भका रूपमा नभएर मैत्रीपूर्ण वैचारिक प्रतिस्पर्धाका रूपमा लिनुपर्छ ।

लोकतान्त्रिक पार्टीको आन्तरिक निर्वाचनमा ‘विनर’ ९विजयी० र ‘रनर’ मात्र ९सहगामी० हुन्छ ‘लुजर’ ९पराजित० कोही हुँदैन भन्ने हेक्का राख्नुपर्छ । तर तेह्रौं महाधिवेशनमा निर्वाचनको क्रममा कतिपय विश्वासघाती गतिविधि देख्नु—भोग्नु नपरेको होइन, जसलाई अनदेखा गर्नु हुँदैन ।

यहाँ नीतिगत मतभेद छैन, ‘नेतागत मतभेद’को महत्त्व पनि छैन । वादको विवाद पनि होइन, मुलुक र जनताले परिवर्तनको खुसियाली महसुस गर्न पाउनुपर्ने नैसर्गिक हकलाई सार्थक बनाउने हाम्रो अनिवार्य कर्तव्यको प्रश्न प्राथमिकतामा छ । त्यसैले वर्तमान नेतृत्वको बाटो निश्चित रूपमा चुनौतीरहित, सरल र सुगम छैन ।

पार्टीको तल्लो तह र मतदाता स्तरसम्म आशा र अपेक्षा बढेका छन् । पार्टीमा आन्तरिक लोकतन्त्र, संस्थागत कार्यपद्धति र अनुशासनलाई प्रभावकारी बनाउने, पार्टीप्रति समर्पित कार्यकर्ता साथीहरूको न्यायोचित मूल्याङ्कन परिपाटी बसाल्नुपर्ने, पार्टीका आधारभूत सिद्धान्त तथा नीतिलाई पुनस्स्थापित गर्ने जिम्मेवारी नवनिर्वाचित नेतृत्वको काँधमा आएकोले मोलाहिजा नगरी इमानदारीपूर्वक कार्यान्वयन गर्नुपर्नेछ ।

९–१० वर्षदेखि थाती रहेको सबै भ्रातृ संस्थाहरूका अधिवेशन आगामी ९ महिनाभित्र गरिसक्ने नयाँ नेतृत्वको निर्णय स्वागतयोग्य छ, तर ‘९ महिना भित्रमा’ भनेर कार्यसम्पादनलाई ९ महिना पर धकेलेर संगठन सुदृढीकरणको काम छोडी ढुक्कले बस्ने सुविधाको रूपमा यसलाई खेर फाल्नु हुँदैन ।

लोकतन्त्रमा सर्वोपरि कुरा विचार हुँदाहुँदै पनि नेपाली काङ्ग्रेस यदाकदा वैचारिक रूपमा अन्योलग्रस्त बनेको वा लघुताभासको स्थितिलाई पनि अब पूर्णतया हटाउनैपर्छ ।

एकातिर संविधानको कार्यान्वयनमा कांग्रेसले अगुवाइ गर्नुपर्ने महाधिवेशनको प्रतिबद्धता र निर्देशन छ, अर्कातिर संविधानका आधारभूत विशेषता र प्रावधान नै ‘परिवर्तन’ र ‘पुनर्विचार गर्नुपर्ने’ चुनौतीपूर्ण आग्रह नेतृत्व तहकै कुनै कोणमा गुञ्जिरहेको सुनिन्छ ।

संविधानको मसी नसुक्दै त्यसमा राखिएका मौलिक प्रावधानलाई ‘परिवर्तन’ वा ‘पुनर्विचार’का नाममा हेरफेर गर्ने काम केवल अस्थिरता र अराजकता निम्त्याउने काम हो । विरोधाभासी मानसिकता, बासी विचार, नसुध्रेको स्वभाव, यथास्थितिवादी प्रवृत्तिबाट कसैको पनि भलाइ सम्भव छैन ।

गाउँ स्तरसम्मकै कार्यकर्तामा प्रशिक्षण अभियान, कार्यक्रमका साथ पार्टीलाई बाह्रैमहिना सुसञ्चालन, विचार र अनुशासित बहसका आधारमा क्रियाशीलता, जनताका साझा आवश्यकता नै पार्टीको कार्यसूची बन्न सके मात्र नीतिगत अन्योल, विरोधाभास र लघुताभास हटेर जान्छ ।

पार्टीभित्र ‘परिक्रमा’मा होइन, पराक्रममा विश्वास राखेर अनुशासनका साथ क्रियाशील हुने कार्यकर्ताको न्यायोचित मूल्याङ्कन एवं नेतृत्वबाट कसैलाई पनि काखा वा पाखा नगर्ने प्रतिबद्धताले कांग्रेसमा पुनर्जागरणको युग आउँछ ।

स्थापनादेखि नै समावेशी चरित्रमा हुर्किएको पार्टी भएका कारण समावेशी लोकतन्त्र नेपाली काङ्ग्रेसको आदर्श र संस्कार हो । वंशवाद, परिवारवाद, नश्लवाद, जातिवाद, धर्म वा सम्प्रदायवादलाई प्रश्रय दिनु कांग्रेसको नीति, आदर्श र संस्कार विरोधी हर्कत हुन् ।

समाजका सम्पूर्ण, खासगरी संकटापन्न वर्ग वा समुदायलाई नाराको भुलभुलैयामा अलमल्याउने वा भोटबैंक बनाउने होइन, पार्टी केवल निरीह कृपापात्र पनि होइन, नीति निर्माणका हर क्षेत्रमा सक्रिय सहभागिता तथा संयोजन गराउँदै समग्र राष्ट्रिय अभियानमा वर्तमान नेतृत्व सक्षम हुनु जरुरी छ ।

नयाँ पुस्तामा सहज र स्वाभाविक रूपमा देखिएको क्रान्ति, परिवर्तन, आर्थिक–सामाजिक रूपान्तरणको अनिवार्य आवश्यकता एवं समाजवादी सोचको कदर गर्दै लोकतान्त्रिक समाजवादलाई नेपाली समाजको जीवनोपयोगी साधन बनाउने दिशामा नेतृत्वले प्राथमिकता दिनु आवश्यक छ ।

गरिबीबाट पीडित र ग्रामीणहरूको बाहुल्यता भएको नेपाली समाजका लागि आस्था र आकर्षण, आर्थिक–सामाजिक न्याय तथा समतामूलक समाज निर्माणको स्रोत वा आधार नै लोकतान्त्रिक समाजवाद हो ।

आर्थिक–सामाजिक रूपान्तरणमा नौलो फड्को नेपाली समाजले खोजिरहेको छ । गाउँमा रहेका सुकुम्बासी, साना वा मध्यम किसान तथा असङ्गठित मजदुर र सहर तथा औद्योगिक क्षेत्रमा सङ्गठित श्रमजीवी मजदुरका साथै विभिन्न हिंसाबाट पीडित महिला, दलित, जनजाति र मधेसका मामिला लगायत बेरोजगार युवाका समस्यालाई आफ्नो कार्यसूची बनाएर पार्टी क्रियाशील हुनु आवश्यक छ ।

नेपालले कमारा–कमारीको बेचबिखन करिब सय वर्षअघि नै अन्त्य गरेको हो । तर आज आएर वैदेशिक रोजगारीका नाममा ‘घरेलु कामदार’ निर्यात गर्ने कार्यले के सय वर्ष अघिको परिपाटीलाई बल्झाएको छैन र रु के यो अवस्था गलत आर्थिक र सामाजिक नीतिको परिणाम होइन र रु

विदेशमा कार्यरत नेपालीहरूका समस्याबारे कमसेकम हामीले एजेन्डा बनाएर ध्यान दिनैपर्छ ।

विगतमा खुला अर्थतन्त्रका नाममा उपेक्षा, तिरस्कार र बञ्चितीकरणमा परेका सीमान्तकृत समुदायलाई बिर्सेर हामीले अपनाएका गलत आर्थिक ढाँचाको परिणामस्वरूप आजका कतिपय विकृति, असंगति र कमजोरी उत्पन्न भएको तितो यथार्थलाई आत्मसात गर्दै विगतका कमजोरी र गल्ती सच्याउँदै सामाजिक न्याय, सुरक्षा, समावेशी प्रजातान्त्रिक समाजवादी नीतिमा केन्द्रित गर्नु नेतृत्वको प्रमुख जिम्मेवारी हो ।

भूकम्पले थिलथिलो बनाएको, त्यसमाथि बाढी–पहिरो र पछिल्लो चरणमा आपूर्ति व्यवस्थामा उत्पन्न चरम संकटबाट प्रभावित जनताको दुस्खमा नेपाली कांग्रेस पनि मुछिएको छ । त्यसैले घर भत्केर पालमा संकटपूर्ण अवस्थामा बाँचेका जनताको जिन्दगी फर्काउने कार्यमा संसद्को सबभन्दा ठूलो र विपक्षी पार्टीका हैसियतले कांग्रेसको विशेष भूमिका छ ।

यस्तो राष्ट्रिय परिस्थितिमा कांग्रेसले सुशासनका लागि दण्डहीनता र भ्रष्टाचार विरुद्धको अभियान हाँक्नुपर्छ । भ्रष्टाचार विरोधी अभियानमा कांग्रेस खरो उत्रिन सक्यो भनेमात्र हाम्रा सफलताका अरू बाटाहरू खुल्नेछन् ।

उपरोक्त यथार्थमा आधारित कार्यभारलाई सफल बनाउन, पार्टीलाई प्रतिक्रियात्मक होइन, राष्ट्रियता, लोकतन्त्र र समाजवादका प्रक्रियाका लागि युगानुकूल गतिशीलतामा बढाउन र पार्टीभित्र गुट र फुटको प्रतिकूल वातावरणको पूर्ण अन्त्य गरी आन्तरिक लोकतन्त्रलाई सुदृढ बनाउँदै आत्मीय एकता, सद्भाव र भाइचाराको विकास गर्न नेतृत्वले कुनै बहाना नबनाई लाग्नुपर्छ ।

उपरोक्त एजेन्डालाई सफल बनाउन म पार्टी सभापतिको हात सबल बनाउन सम्पूर्ण कार्यकर्ता साथीहरूलाई आह्वान गर्छु । यति भएमा नेपाली कांग्रेसले आफ्नो लक्ष्य हासिल गर्नबाट कसैले रोक्न सक्दैन । साभारःकान्तिपुर