प्रधानमन्त्री ओलीद्वारा तलेजु भवानीको अवलोकन

फागुन ६,काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले वसन्तपुरस्थित तलेजु भवानी मन्दिरको आज बिहान अवलोकन गरेका छन्।

विश्व सम्पदामा सूचीकृत हनुमानढोका दरबार क्षेत्रभित्र रहेको सो मन्दिरको वरिपरि घुमेर भूकम्पपछि मन्दिरको अवस्थाबारे समेत उनले जानकारी लिएका थिए।

प्रधानमन्त्री ओलीले मन्दिरको अवलोकनका साथै पूजासमेत गरेका थिए।

प्रधानमन्त्री ओलीले तलेजु मन्दिरको छानोबाट पानी चुहिने भएकाले छाना बनाउनका लागि सरकारले रु पाँच लाख दिने प्रतिबद्धता व्यक्त गरे।

उनले मन्दिर निर्माणका लागि सरकारले एक पटकमा रु पाँच लाखभन्दा बढी दिन नमिल्ने भएकाले सुरुमा पाँच लाख दिने र नपुगे पटक पटक गरी छानो निर्माणको काम पूरा गर्ने बताए ।

भूकम्पका कारण सो मन्दिर सामान्य चर्किएको छ भने छानोबाट पानी चुहिन्छ । त्यसका लागि स्थानीयवासीले सरकारसँग छानो निर्माण गर्नुपर्ने माग गरेका थिए ।

मल्लकालीन राजाहरुको इष्ट देवताका रुपमा पुजिने तलेजु भवानीको मन्दिरमा सर्वसाधारणका लागि वर्षको एकपटक मात्र दसैँको नौरथा अर्थात् नवमीको दिनमात्र खोलिन्छ ।

मल्लकालीन राजा महेन्द्र मल्लको पालामा तलेजु भवानीको मन्दिर बनेको हो ।