सूचना तथा संचारसम्बन्धी उच्चस्तरीय समिति गठन

फागुन ६,काठमाडौं–सरकारले नयाँ संविधानअनुकूल नयाँ आमसंचारनीतिको मस्यौदा तयार गर्न कानुन तथा संचारविज्ञ काशीराज दाहालको अध्यक्षतामा“सूचना तथा संचारसम्बन्धी उच्चस्तरीय समिति, २०७२” गठन गरेको छ ।
समितिले नयाँ संविधानको मर्म र भावना तथा संघीयताको खाकाअनुसार हुने गरी नयाँ आमसंचार नीति तर्जुमा गर्ने, विद्यमान सञ्चार ऐनमा पुनरावलोकन गर्नेलगायतका सुझाव दिने सूचना तथा संचारमन्त्री एवं सरकारका प्रवक्ता शेरधन राईले जानकारी दिए । त्यस्तै, संविधानप्रदत्त पूर्ण प्रेस स्वतन्त्रता, श्रमजीवी पत्रकार, पत्रकार आचारसंहिता, लोकतन्त्र र संचार आदि विषयमा समस्या पहिचान गरी समाधानको उपायबारे पनि सुझाव दिन कार्यादेश दिइएको छ । समितिको कार्यावधि तीन महिना तोकिएको छ ।

नेपाल सरकारद्वारा गठित “सूचना तथा संचारसम्बन्धी उच्चस्तरीय समिति, २०७२”को सदस्य पदमा जागरण मिडिया सेन्टरका अध्यक्ष रेम बहादुर विश्वकर्मा पनि मनोनित हुनुभएको छ ।